११ पुष २०८१, बिहीबार

बजारमा उतारचढाव कायमै, कहिले बढ्छ नेप्से ?


साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन ३ अंकले नेप्से परिसूचक बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीति आएदेखि नै घट्ने क्रममा रहेको सेयर बजार यस साताभर नै उतारचढाव रह्यो ।

मौद्रिक नीतिले खस्काएको लगानीकर्ताको मनोबल माथि उठ्न नसक्दा बजारमा उतारचढाव आएको सरोकारवालाहरू बताउँछन् ।

गत आइतबार नेप्से परिसूचक २६.१४ अंकले घट्दै २१००.३४ विन्दुमा झरेको थियो । सोमबार ५.८४ अंकले बढेको बजार मंगलबार फेरि २८.५९ अंकले घट्दै २०७७.५८ विन्दुमा झर्‍यो ।

बुधबार फेरि नेप्से परिसूचक ९.२५ अंकले बढेकोमा बिहीबार २ अंकले बढेर २०८९.८४ विन्दुमा कारोबार बन्द भएको छ ।

बिहीबार २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता शेयर १ अर्ब ७८ करोड १९ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारका क्रममा बैंकिङ, जीवनबीमा उपसमूहको सूचक उच्च छ ।

साताभरमा बजार दुई पटक उच्च अंकले घट्दा तीन दिनको वृद्धि भने निकै सामान्य रह्यो । यसले लगानीकर्ताको खस्केको मनोबल देखाएको शेयर बजार विज्ञ छोटेलाल रौनियार बताउँछन् ।

लगानीकर्ताहरूका मागमा राष्ट्र बैंक सकारात्मक नबन्दा त्यसको नकारात्मक प्रभाव शेयर बजारमा देखिएको गुनासो लगानीकर्ताहरूले गर्दै आइरहेका छन् । यस पटक पनि मौद्रिक नीतिले लगानीकर्ताको माग पूरा गर्ने चासो नदेखाएपछि उनीहरू निरुत्साहित भइरहेको रौनियारको विष्लेशण छ ।

मौद्रिक नीतिले शेयर बजारलाई माथि उठाउन केही राहत भने नदिएको होइन । नीतिमा ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत हुने बनाइएको छ । विगतमा २५ लाख रुपैयाँसम्मको ऋण मात्रै १०० प्रतिशत जोखिम भारमा पाइन्थ्यो ।

मौद्रिक नीतिले साना लगानीकर्ताको हितमा यो नीति ल्याएको बताएको छ । यद्यपी बजार चलायमान बनाउन साना ठूला दुवै लगानीकर्ताको उत्तिकै भूमिका रहने लगानीकर्ताहरू बताउँछन् ।

नीतिमा विभेद गरिँदा लगानीकर्ताको मनोबल बारम्बार खस्कन पुगेको रौनियार बताउँछन् । उनले भने,‘मौद्रिक नीतिमा बजारलाई थप नराम्रो हुने नीति त आएन । तर लगानीकर्ताको अपेक्षा अनुसारको पनि नआउँदा मनोबल खस्किएको हो ।’

यतिखेर सूचीकृत कम्पनीले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन् । लगानीकर्ताहरू सोही वित्तीय विवरणको पर्खाइमा देखिएका छन् ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले २१ साउनभित्र गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । अन्य सूचीकृत कम्पनीहरूले साउन मसान्तभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । लगानीकर्ता वित्तीय विवरण हेरेर कारोबार गर्ने मूडमा छन् ।

बजारमा उतारचढाव कायमै रहेपनि विस्तारै शेयर बजार अगाडि बढ्ने दिशामा भने रहेको रौनियार बताउँछन् । घट्दो ब्याजदर, प्रयाप्त तरलता तथा अन्य सूचक पनि राम्रो रहँदा शेयर बजार अब विस्तारै चलायमान हुने उनको विश्वास छ ।

यता नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल राष्ट्र बैंककै नीतिका कारण सेयर बजार माथि उठ्न नसकेको बताउँछिन् । पोखरेल भन्छिन्,‘बजार घट्नुको कारण मौद्रिक नीतिमात्रै होइन । राष्ट्र बैंकले विगतदेखि नै बजारलाई प्यानिक बनाएर राखेको छ, जसकारण घटिरहेको छ ।’

उनले सेयर बजार बढ्नका लागि नीति निर्माताहरूले दोहोरो चरित्र देखाउन नहुनेमा जोड दिइन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल राष्ट्र बैंकले विगतमा मौद्रिक नीतिमार्फत ल्याएको नीतिका कारण नै सेयर बजार घटेको बताउँछन् ।

उनी भन्छन्,‘लगानीकर्ताले २ वर्षमा ठूलो नोक्सानी ब्यहोर्नुपर्‍यो । यसको पहिलो कारण नै मौद्रिक नीतिमार्फत आएको नीति नै हो ।’ ‘समग्र अर्थतन्त्र लयमा आउँदै गर्दा सेयर बजार पनि अब क्रमैसँग बढ्ने देखिन्छ,’ उनी भन्छन्,‘तरलता प्रयाप्तता, घट्दो ब्याजदर लगायतका कारण सेयर बजारमा सकारात्मक प्रभाव पर्छ ।’

ताजा समाचार