७ पुष २०८१, आईतवार

भारतबाट धान र चामल ल्याउने सरकारको तयारी


सरकारले भारतबाट धान र चामल ल्याउने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो ।

दुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने सम्भावित अभावलाई मध्यनजर गरेर धान र चामल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले धान र चामल ल्याउने विषयमा छलफल भएको र कति परिणाममा ल्याउने भनेर निर्णय भइनसकेको जानकारी दिए।

उनले  बजारमा खाद्यान्न अभाव नभएको र आगामी दिनमा हुने सक्ने सम्भावित अभावलाई मध्यनजर गर्दै धान र चामल ल्याएर राख्ने हो कि भनी छलफल भएको बताए ।

भारतले चामल निर्यातमा रोक लगाएपछि हालै मुख्य सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

सो बैठकले नै धान र चामलको सम्भावित अभावलाई मध्यनजर गर्दै त्यसको तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय धान र चामल ल्याउने तयारीमा जुटेको हो ।

नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अध्यक्ष कुमुदकुमार दुगडले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन १० लाख टन धान आयात गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए ।

भन्सार विभागको तथ्याङ्क अनुसार गएको आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएको थियो ।

ताजा समाचार