३ पुष २०८१, बुधबार

कहाँ हरायो टेलिकमको २० हजार रिचार्ज कार्ड ?


नेपाल टेलिकमको करिब २० हजार थान रिचार्ज कार्ड हराएको छ ।

काठमाडौँदेखि भैरहवा पठाउने क्रममा ५० दरका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार ढुवानी कम्पनीले भैरहवा लैजाने क्रममा त्यस्ता रिचार्ज कार्ड हराएको हो ।

टेलिकमले ढुवानी कम्पनीमार्फत रिचार्ज कार्ड देशका विभिन्न ठाउँमा पुर्‍याउने गर्छ ।

ढुवानी कम्पनीकै गल्तीका कारण रिचार्ज कार्ड हराएकाले टेलिकमले ढुवानी कम्पनीलाई जरिवाना तिराउने तयारी गरेको पनि अधिकारीले जानकारी दिए ।

टेलिकमले हराएका रिचार्ज कार्ड खरिद तथा बिक्री वितरण नगर्न पनि आग्रह गरेको छ ।

त्यस्ता रिचार्ज कार्ड प्रणालीमा आबद्ध नभइसकेकाले रिचार्ज पनि हुन नसक्ने कम्पनीले प्रस्ट पारेको छ ।

हराएका कार्ड भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन पनि टेलिकमले आग्रह गरेको छ ।

ताजा समाचार