नेपाल राष्ट्र बैंकले विदेशमा बस्ने नेपालीहरुले क्रिप्टोकरेन्सीमा लगानी गरेमा कानुनी दायरामा ल्याउने भएको छ। आइतबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीको प्रतिबन्ध बर्खिलाप हुने कार्यमा सहभागी हुने विदेशमा बस्ने नेपालीलाईसमेत कानुनी दायरामा ल्याउन सकिने उल्लेख गरेको हो।
राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा लगानी गरेका र नेपाल बाहिर बस्ने नेपालीहरुलाई कसरी कारबाही हुन्छ भन्ने विषयमा प्रष्ट पार्दै भनेको छ–‘क्रिप्टोकरेन्सीको प्रतिबन्ध बर्खिलाप हुने कार्यमा सहभागी भई विदेशमा बस्ने नेपालीलाईसमेत नेपाल पक्ष रहेका विभिन्न द्विपक्षीय तथा बहुपक्षीय अन्तर्राष्ट्रिय सन्धी सम्झौतामार्फत उपयुक्त कानुनी दायरामा ल्याउन सकिन्छ।
क्रिप्टोकरेन्सीहरुमध्ये सर्वप्रथम बिटक्वाइन सन् २००९ देखि प्रचलनमा आएको देखिन्छ। विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ हालसम्म १० पटक संशोधन भएको छ। जसमध्ये पछिल्लो पटक वि।सं। २०७५ फागुन ११ मा संशोधन भएको छ।
त्यस्तै, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ हालसम्म दुई पटक संशोधन भएको छ। जसमध्ये पछिल्लो पटक वि.सं.२०७४ वैशाख मसान्तमा संशोधन भएको छ।
कतिपय अवस्थामा ऐनमा संशोधन गरिरहन सम्भव नहुने हुँदा ऐनहरुअन्तर्गतका नियम, विनियम, निर्देशन, परिपत्र तथा सूचनाबमोजिम उपयुक्त व्यवस्था गर्नेगरी प्रबन्ध गरिएको हुन्छ। सोहीबमोजिम नेपालमा २०७४ साउन २९ देखि क्रिप्टोकरेन्सीका सम्बन्धमा प्रतिबन्धात्मक व्यवस्था गरिएको हो।