७ पुष २०८१, आईतवार

शालिक फलाउने कृषि कार्यक्रम र स्वर्णिमहरूको राजनीति  


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको एक महिना व्यतीत भइसकेको छ । आलोचकहरुले यो नीति सबैलाई खुशी पार्ने खालको भनी टिप्पणी गरेका छन् भने मौद्रिक नीतिलाई लिएर कुनैपनि क्षेत्रमा खास उत्साह देखिएको छैन । यद्यपि केही खुकुला प्रावधानहरु सहित ‘खराब भन्‍न नमिल्ने’ मौद्रिक नीति आएको छ ।

मौद्रिक नीतिका कम्तीमा चारवटा बुँदामा विप्रेषण र अर्थतन्त्रमा त्यसको प्रभावसम्बन्धी विषय समेटिएको छ । यही पृष्ठभूमिमा यो टिप्पणी मुलुकलाई सही दिशा दिने जिम्मेवारी पटकपटक पाएर पनि उल्लेखनीय प्रभाव छोड्न नसकेका ‘अर्थशास्त्री नेता’ स्वर्णिम वाग्ले, वर्तमान नेपालको अर्थ-राजनीति, सामाजिक विकास अनि नीतिगत विरोधाभास र द्विविधामा केन्द्रित छ ।

पछिल्लो मौद्रिक नीतिका यी वाक्यहरु हेरौं- “विप्रेषण आप्रवाहका कारण मुद्राको आपूर्ति बढेको छ, तर सोहीबमोजिम मुलुकभित्रै मूल्य अभिवृद्धि हुन नसकेकोले आन्तरिक उत्पादन क्षमता र मागका बीच अन्तर बढ्दै गएको छ…”, ” नेपालको गार्हस्थ बचत लामो समयदेखि कुल गार्हस्थ उत्पादनको १० प्रतिशतभन्दा न्यून रहेको स्थिति छ…”, ‘रिसोर्स ग्याप’ बढ्दै गएको छ र “बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप ब्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ…”

कोकाकोला बोक्ने कृषि सडक, शालिक फलाउने कृषि कार्यक्रम

जसरी ट्रकको विकासले मानव सभ्यतालाई नयाँ उचाईमा पुर्‍याउन भरपुर योगदान गर्‍यो, ठीक त्यसैगरी बुल्डोजर र एक्जाभेटरले आधुनिक सभ्यताको जग खनिदिए । जग खन्‍ने र संरचना निर्माण गर्नेमात्रै होईन, ती साधनले आधुनिक सभ्यताकै सम्भार र संचालनमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।

खासगरी प्रजातन्त्र पुनर्स्थापनापछिको नेपाली समाज बुल्डोजरमै केन्द्रित हुनपुग्यो । पूर्वाधार निर्माण गर्नु महत्वपूर्ण काम हो । तर, हामीकहाँ पूर्वाधारहरु अन्धाधुन्ध बने । तिनको प्रयोग अन्धाधुन्ध हुनपुग्‍यो । अधिकांश सडक पूर्वाधार प्रयोगविहीन र औचित्यहीन छन् भने कतिपयको हकमा पूर्वाधार निर्माणको बेला राखिएको उदेश्य नै मजाकजस्तो भइदियो । अद्यापि पूर्वदेखि पश्‍चिमसम्म हिमाल, पहाड, तराई सबैतिर डोजर चल्ने र बाटो खन्‍ने काम तीव्रत्तर भइरहेको छ । संघीयताको अभ्यास सुरु भएयता डोजरमा केन्द्रित हुनु नै अधिकांश स्थानीय तहको मूल कर्म भएको छ । धेरैजसो सडकको नाममा ग्रामीण सडक अथवा कृषि सडक जोडिएको छ । त्यस्ता सडकमा चल्ने सवारी साधन गाउँबाट रित्तै फर्किने गरेका भएपनि गाउँ पस्दा बहुराष्ट्रिय कम्पनीका पेय पदार्थ बोकेर जान्छन् । नेपालका ग्रामीण र कृषि सडकको औसत परिचय ‘कोकाकोला बोक्ने रोड’ भएको छ ।

अर्को यौटा स्मरणीय घटना यहाँनेर उल्लेख गर्नु सान्दर्भिक हुन्छ- कृषि विकास मन्त्रालय अन्तर्गत सञ्‍चालित पीपीपी मोडेलको एक गाउँ, एक उत्पादन कार्यक्रम (ओभीओपी) अन्तर्गत गोरखा उद्योग वाणिज्य संघले राजा द्रव्य शाहको अर्धकदको शालिक निर्माण गर्‍यो । त्यसको उद्‍घाटन योजना आयोगका तत्कालीन बहालवाला उपाध्यक्षको करकमलबाट भयो । अर्थात्, स्वर्णिम वाग्लेको कालमा कृषिको कार्यक्रमले एक थान शालिक उत्पादन गर्‍यो र योजना आयोगका उपाध्यक्षबाट निसंकोच उद्‍घाटन भयो । हामीले यस्ता विसंगति र असंगतिहरुमाथि विमर्श गर्न जरुरी ठान्‍दैनौं, त्यो बेग्लै विषय हो !

कहिले बन्छ देश ?

नेपालमा केही भएकै छैन भन्‍नु अत्युक्ति हुन्छ । भौतिक विकासको काम धेरै नै भएको छ । पूर्वाधारहरु थपिएका छन्, ती पूर्वाधारको माध्यमबाट दुरदराजसम्म पहुँच पुगेको छ । तर, त्यसबाट स्थानीय र राष्ट्रिय अर्थतन्त्रले अपेक्षित फाईदा लिनसकेको  अवस्था छैन ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि भएको भौतिक विकासले समग्र सामाजिक विकासलाई टेको दिनसकेको छैन । नेपाली युवा रोजगारीका लागि संसारको जुनसुकै कुनामा पुग्ने उपक्रम चलिरहेको छ । वाग्लेकै शब्दमा ‘स्लो र्‍यापिड डिजास्टर, मानव संसाधनको क्षयीकरण, डिस्‍रप्‍टिभ टेक्‍नोलोजी’को असर झनै डरलाग्दो गरी बढ्दै छ । राष्ट्र बैंकको नीतिमा उल्लेख भएजस्तो ‘रिसोर्स ग्याप’ बढ्दै गइरहेको छ ।

सिङ्गो समाज नै नीति र व्यवहारको विरोधाभासमा रुमल्लिएको छ । ज्ञानीगुनी र चलाख पात्रहरुले यही विरोधाभासलाई देखाएर आफु वा आफ्नो स्वार्थ मिल्ने संस्था समुहको हित प्रवर्द्धन गरिरहेका छन् ।

यौटा नागरिक दिनभरिमा पाँचथरी ‘ज्ञानी’ पात्रका पाँचैथरी विरोधाभासपूर्ण कुरामा समर्थन गर्दै ताली बजाउनुपर्ने विडम्बनापूर्ण अवस्थामा छ । उदाहरणको लागि एक नेपाली नागरिकको बिहानी उत्पादन र उपभोगमा राष्ट्रवाद अनि पहिचानको हुटहुटी जगाउने भाषणमा मख्ख पर्दै सुरु हुन्छ । खाना खाएपछि कृषि उत्पादनमा आत्मनिर्भर हुने र निर्यात प्रवर्द्धन गर्ने योजनामा ताली बजाउँछ । मध्यान्हतिर खाडीतिरको कुनै देशमा मजदुरको कोटा थपिएकोमा उत्सुक र रोमाञ्‍चित हुनपुग्छ । दिउँसो अबेर कोही आफन्तलाई नफर्किने गरी युरोप, अष्ट्रेलिया पठाउन बिदाईका लागि एयरपोर्ट पुग्छ र मनमनै आफुपनि उतै पुगेको कल्पनामा डुब्छ । साँझ परेपछि भने अर्थतन्त्र अप्ठेरो स्थितिमा रहेको, तस्करी मौलाएको, उद्यम गर्छु भन्‍नेहरु टिक्न नसकेको विश्‍लेषण टेलिभिजनका पर्दामा हेरेर निराशामा डुब्छ ।

समकालीन नेपालमा यौटा बालकले स्कुले पढाई सक्दानसक्दै यो मुलुकमा केही छैन भन्‍ने भाष्य निर्माण गरिसक्छ, यौटा युवाले आफु विदेश नपसी घर व्यवहार नचल्ने निचोड निकाल्छ ।

‘स्वर्णिमहरु’ र हामी

संसदीय निर्वाचनमा जीत हासिल हुनुभन्दा अगाडि नै नेपाली काङ्ग्रेसको तर्फबाट दीर्घकालीन विकास योजना, नीति र रणनीति तर्जुमा गर्ने जिम्मेवारीमा रहेका, योजना आयोगको क्रमशः सदस्य र अध्यक्ष पदमा रही काम गरिसकेका स्वर्णिम वाग्लेका अनुसार नेपालको समुन्नतिको यात्रामा पाँचवटा जोखिम छन् । उनकै भाषामा ती पाँचवटा जोखिम हुन्- “स्लो र्‍यापिड डिजास्टर, मानव संसाधनको क्षयीकरण, डिस्‍रप्‍टिभ टेक्‍नोलोजी, छिमेकको प्रभाव र सुशासन ।”

स्वर्णिम वाग्ले नेतृत्वको तत्कालीन योजना आयोगले यिनै चुनौतीलाई चिर्दै समाजलाई डोर्‍याउने योजना तर्जुमा गरेको र त्यसको कार्यान्वयन भइदिएको भए आज देशको अवस्था बेग्लै हुने थियो । वा, कम्तीमा पनि त्यसको सकारात्मक संकेत देखिन थालिसकेको हुने थियो । बिडम्वना, उनको नेतृत्वको योजना आयोग नेपालको समृद्धिको लागि ‘स्वर्णिम काल’ बन्‍न सकेन । र, त्यसको बाछिटाले हामी रुझिरहेका छौं !

अमुक व्यक्ति मन्त्री, सांसद्‍ बनेपछि मात्रै देश बनाउने दृढ सोचको विकास हुने र राष्ट्रका लागि खास योगदान दिन मिल्ने भए बेग्लै कुरा । अन्यथा, ‘स्वर्णिमहरु’कै नाउँमा अति आशावादी हुने अवस्था भने छैन । किनकि विगतदेखि नै राष्ट्रिय-अन्तर्राष्ट्रिय अर्थ-राजनीति बुझेका र बहुराष्ट्रिय छवि भएका व्यक्तिका नाउँमा हामीले देखेका सपनामाथि तुषारापात हुनेक्रम चलिरहेकै छ ।

समसामयिक   सामाजिक  मुद्दाकेन्द्रित  यो  स्तम्भ  हरेक  सोमबार  प्रकाशन  हुन्छ  स्तम्भको  शीर्षकमा  प्रयोग गरिएको  स्केच मध्यपहाडी  लोकमार्गको उद्गम बिन्दु पाँचथर जिल्लाको चिवाभञ्ज्याङ नजिकै पर्ने नागबेली सडक हो । -सम्पादक 

पढ्नुहोस् यो पनि – 

माफ गर्नुहोला, म ‘पठाओ’ होइन !

 

ताजा समाचार