काठमाडौं । काठमाडौं डेरी प्रालिले दूध र दहीको उत्पादन निकै बढाउने भएको छ । आगामी २ वर्षमा उत्पादन क्षमता बढाएर दूधको दैनिक २० हजार लिटरसम्म पुर्याउने भएको छ । दहीको ६ हजार लिटर पुर्याउने डेरी उद्योग सङ्घका अध्यक्षसमेत रहेका सञ्चालक प्रदीप महर्जनले बताए । हाल उद्योगको दूध उत्पादन क्षमता दैनिक ८ हजार लिटर तथा दहीको उत्पादन क्षमता दैनिक ७ सय लिटर रहेको छ । काठमाडौं डेरीका उत्पादन गुणस्तरीय भएकाले माग निकै बढिरहेको उनको दाबी छ ।
ग्राहकको चाहनाअनुसार उत्पादन बढाउने तयारी पनि डेरीले गर्दै छ । ‘काठमाडौं उपत्यकाको नयाँ ठाउँमा जग्गा खरीद गरी उद्योगलाई सारेर क्षमता विस्तार गरिनेछ,’ महर्जनले भने । उद्योगको क्षमता विस्तारका लागि थप १५ करोड रुपैयाँ खर्च हुने उनको भनाइ छ ।
बबरमहलमा अवस्थित काठमाडौं डेरीले स्थानीयस्तरमा दूध सङ्कलन गरी दूध, दही, मोही, घिउ, बटर, पनिर, आइसक्रीमलगायत दूधजन्य वस्तुको उत्पादन गरी विक्री गर्छ । आइसक्रीम र दही काठमाडौं डेरीका विशेष उत्पादन हुन् । डेरीका उत्पादन स्नोफन ब्राण्डमा बजारमा उपलब्ध छन् । डेरीले ललितपुरको टिकाभैरव र काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा दुग्ध चिस्यान केन्द्र स्थापना गरेको छ ।
२०४९ सालमा स्थापना भएको काठमाडौं डेरीमा करीब ६ करोड रुपैयाँ लगानी भएको छ । डेरीले दुग्धपदार्थबाट वार्षिक करीब ६ करोड रुपैया सम्मको व्यवसाय गर्छ । काठमाडौं डेरीबाट उत्पादित वस्तुहरु काठमाडौं उपत्यकाभित्र नै खपत हुन्छ । यसले १५ ओटा विभिन्न स्वाद फ्लेबरमा आइसक्रीम उत्पादन गर्दै आएको छ । यसमध्ये भेनिला, स्ट्रबेरी, चक्लेट, ट्वाण्टी वान लभ, पाइनएप्पल, बटर स्कच, अलैची पिस्ता, पिस्ताचिओ लगायत बढी लोकप्रिय छन् ।