१० पुष २०८१, बुधबार

एनसेलसँग १५ वर्षदेखि सम्बन्धमा प्रचण्ड, करछलीको ढाकछोप गर्न महराको प्रयोग


पहिलो संविधान सभाको निर्वाचनपछि बनेको सरकारको नेतृत्व गर्दा नै निजी टेलिकम्युनिकेसनका सञ्चालक साझेदारसँग वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बन्ध र सम्पर्क अघि बढेकोे थियो। माओवादी केन्द्रनिकट पत्रकारहरूको भेलालाई सोमबार सम्बोधन गर्दै एनसेल खरिद–बिक्रीबारे आफूले दुबईमा थाहा पाएको र स्वेदश फर्केपछि अध्ययन गर्न समिति बनाएको बताए।

संविधान सभाको निर्वाचनपछि सरकार बनाए पनि लामो समय नटिकेको र त्यसपछि दाहालसँग निकट रहेका व्यापारी अजयराज सुमार्गीको नातामा जेठी सासू पर्ने शिशु अर्यालको लाजिम्पाटस्थित भवनमा निवास उपलब्ध गराएदेखि नै उनीहरूबीचको सम्बन्धबारे चर्चा चुलिएको थियो। अर्यालको घरमा बस्न जानुअघि नै एनसेलका अहिलेका लगानीकर्ताहरूसँग दाहालको सम्बन्ध थियो। संविधान सभाको पहिलो निर्वाचनपछि दाहाल प्रधानमन्त्री बनेर आएपछि उनीनिकट व्यापारी सुमार्गीको नाममा ‘हेलो नेपाल’को लाइसेन्स दिइएको थियो। निकै सस्तोमा नेपाल स्याटेलाइट कम्पनीको नाममा मोबाइल सञ्चालन गर्ने उक्त लाइसेन्स उनलाई प्राप्त भएको थियो। उक्त कम्पनीलाई सस्तोमा मात्र नभई आवश्यकताभन्दा बढी फ्रिक्वेन्सी पनि दिइएको थियो। त्यसको ७५ प्रतिशत सेयर ‘टेलियासोनेरा’ले किनेको थियो।

दाहाल प्रधानमन्त्री र कृष्णबहादुर महरा सञ्चारमन्त्री भएका बेला जब सुमार्गीले हेलो नेपालको लाइसेन्स लिए तब आफ्ना साथमा धेरैवटा फ्रिक्वेन्सी भएको अवस्थामा दाहाललाई लाजिम्पाटमा सुविधासम्पन्न घर उपलब्ध गराए। शान्तिप्रक्रियामा आएको पाँच वर्ष नपुग्दै १० करोडभन्दा बढी रकममा खरिद गरिएको अत्याधुनिक महलमा स्थायी बसोबास गरेपछि दाहालको व्यापक आलोचनासमेत भएको थियो। उक्त महल १० करोड २० लाख रूपैयाँमा दाहालका लागि नै खरिद गरिएको थियो। नवल सिंहानिया अग्रवाल नामका बर्मेली मारवाडी व्यापारीको सो घर २०६८ साउन १३ गते शिशु अर्यालको नाममा नामसारी भएको थियो। मालपोत कार्यालयको न्यूनतम मूल्यांकनअनुसार प्रतिआना १० लाख रूपैयाँको दरले ५ करोड २० लाखको थैली देखाइएको थियो।

सञ्चारमाध्यमले दाहाल–सुमार्गी सम्बन्धका विषयमा निरन्तर प्रश्न गर्न थालेपछि स्वकीय समीर दाहालले २०६८ माघ २१ गते एक विज्ञप्ति जारी गरेर भाडामा बसेको घर भनी उल्लेख गरेका थिए। ‘सम्पूर्ण करसहित मासिक १ लाख ३ हजारको भाडादरमा लिइएको हालको निवासमा तुलनात्मक रूपमा सुरक्षा, पार्किङको सुविधा भएको स्पष्ट पार्न चाहन्छौं तर सम्भ्रान्तको जस्तो स्विमिङ पुललगायत सुविधा भएको भनी गरिएको गोयबल्स शैलीको प्रचारमा गम्भीर षड्यन्त्रको गन्ध हामीले पाइरहेका छौं,’ त्यतिबेला स्वकीय सचिवालयबाट जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।

भारतले नाकाबन्दी लगाएको केही समयपछि केपी ओली शर्मा प्रधानमन्त्री बनेका थिए। त्यसको नौ महिनापछि दाहालले एमालेको सरकारलाई ढाले र कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य गरेर उनी प्रधानमन्त्री बने। अर्थमन्त्रीमा त्यसअघि सुमार्गीलाई हेलो नेपालको लाइसेन्स र फ्रिक्वेन्सी बाँड्ने कृष्णबहादुर महरा नियुक्त भए। तत्कालीन आजियाटा (हालको एनसेल) ले २०७२ चैतमा नै टेलियासोनेराबाट सेयर खरिद गरेको थियो। त्यसबेला करछली गरेको मुद्दा चर्किंदै गएपछि त्यसलाई ढाकछोप गर्न उनै महराको प्रयोग गरियो। त्यतिबेला एनसेलको करछलीको विषयबारे विवाद ननिकाल्न भन्दै राज्यको हरनिकायलाई दबाबसमेत राजनीतिक नेतृत्वबाट दिइएको थियो। कतिसम्म भने महालेखापरीक्षक कार्यालयका अधिकारीहरूलाई व्यक्तिगत रूपमा भेटेरै आग्रह गरेको जानकारहरूको दाबी छ।

सेयर किनबेच भएपछि २०७३ सालमा एनसेलले बुुझाउनुपर्ने पुँजीगत लाभकरको विषय चर्को रूपमा उठेको बेला दाहाल भने ६६ अर्ब रूपैयाँको लाभकर मिनाहा गर्न लागिपरेका थिए। त्यतिबेला ठुला करदाता कार्यालयमा रहेका तत्कालीन उपससचिव दीर्घराज मैनालीले एनसेल किनबेचमा पुँजीगत लाभकर तिर्नुपर्ने बताएपछि दाहालले महालेखापरीक्षक प्रमुखमा टंकमणि शर्मालाई लगेर लाभकर तिर्नुनपर्ने गरी प्रतिवेदन तयार गर्न लगाएका थिए। अहिले उनै शर्मा एनसेल खरिद–बिक्री प्रकरणमा अध्ययन समितिका संयोजक छन्।

सन् २०१० मा टेलियासोनेराले आफ्नो सेयर ‘स्पाइस नेपाल’मा बढाएपछि त्यो पूर्ण रूपमा एनसेलको नियन्त्रणमा आएको थियो। त्यसबेला २० प्रतिशत सेयरका साथ स्थानीय साझेदारका रूपमा निरजगोविन्द श्रेष्ठ थिए। उनीसँग पनि दाहालको घनिष्ठ सम्बन्ध थियो। स्पाइस नेपालको नियन्त्रण आफ्नो हातमा आएपछि सन् २०१० मा ‘मेरो मोबाइल’ ब्रान्डलाई परिवर्तन गरी एनसेल बनाइएको थियो। एनसेलसँगै सम्बन्धित व्यक्ति श्रेष्ठसँग निकट सम्बन्ध रहेको भन्ने त्यतिबेला पुष्टि भयो, जतिबेला दाहालले आफ्नो ५०औं विवाह वर्षगाँठ उनकै घरमा मनाए। २०७६ वैशाख २६ मा उक्त वैवाहिक वर्षगाँठ मनाइएको थियो।

श्रेष्ठको सुनाकोठीस्थित घरमा वैवाहिक वर्षगाँठ मनाएका दाहाल र उनका सेरोफेरोका नेताहरूले एनसेललाई सहयोग पु¥याउँदै आएको स्रोतको दाबी छ। एनआरएनएका पूर्वअध्यक्ष एवं व्यापारी उपेन्द्र महतो २०६८ चैत १६ मा निरजगोविन्दलाई सेयर बेचेर बाहिरिएका थिए। महतोले व्यापारिक साझेदार श्रेष्ठलाई २० प्रतिशत सेयर बिक्री गर्दा करिब ३ अर्ब राजस्व छली भएको थियो। तर दाहालसँग निकट सम्बन्ध रहेकाले महतो र श्रेष्ठ दुवैले माफी मिनाहा पाएका थिए। अहिले पनि दाहाल मन्त्रिपरिषद्मा महतोका भाइ वीरेन्द्र महतो सहभागी छन्।

श्रेष्ठले एनसेलबाट बाहिरिँदा आफ्नो २० प्रतिशत सेयर भावना सिंह श्रेष्ठलाई बिक्री गरेका थिए। यो बिक्री प्रकरणमा पनि श्रेष्ठले करिब ११ अर्ब रूपैयाँ करछली गरेको भन्दै ठुला करदाता कार्यालयले कर निर्धारण गरिसकेको बताइन्छ। उक्त करको विषय अहिलेसम्म विवादमै रहेका बेला भावनाकै श्रीमान् सतीशलाल आचार्यले एनसेलको सबै सेयर खरिद गरेका छन्। निरजगोविन्द श्रेष्ठसँग २० प्रतिशत सेयर लिने बेला भावनाको एकल स्वामित्व रहेको सुनिभेरा क्यापिटल भेन्चर एनसेल बिक्री हुनुभन्दा तीन महिना पहिला नेपालमा खोलिएको थियो। उनका श्रीमान् आचार्यले एनसेलको सेयर ६ अर्बमा खरिद गरेका हुन् भने पनि ६६ अर्बमा कारोबार भएको छ। आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

ताजा समाचार