अध्यागमन डेस्कमा बस्ने कर्मचारीले अब सुर्तीजन्य पदार्थ र चुइगमको सेवन गर्न नपाउने भएका छन् ।
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयका नाममा निर्देशन जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।
‘अध्यागमन डेस्कमा बस्ने तथा ड्युटीमा रहेको कुनै पनि कर्मचारीले सुर्तीजन्य पदार्थ, गुट्खा, चुइगम सेवन कदापी नगर्ने’ निर्देशनमा भनिएको छ । उनले कर्मचारीलाई मुस्कानसहितको सेवा प्रवाह गर्न समेत निर्देशन दिएका छन् । सेवा प्रवाह गर्दा आतिथ्यतालाई उच्च प्राथमिकता दिन समेत निर्देशनमा भनिएको छ ।
कार्यालयमा हेल्प डेस्क राख्ने र त्यसमा अनिवार्य कर्मचारी खटाउन समेत उनले अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएका छन् ।