नेपालको हकमा निजी दुईपाङ्ग्रे सवारी साधनलाई भाडाको सवारीका रुपमा प्रयोग गर्ने चलन वैधानिक, व्यवस्थित र ‘प्रोफेसनल’ भैसकेको छैन । तथापि, सार्वजनिक यातायात क्षेत्रमा विद्यमान बेथितिको कारण ‘राइड सेयरिङ कल्चर’ बाध्यता र ‘रोमाञ्च’को मझधारबाट हुर्किने उपक्रममा छ । पछिल्ला दिनमा समाजमा लोकप्रिय भइरहेको ‘राइड सेयरिङ’ खासगरी राजधानी सहरको जनसंख्याको दैनिकीसँग जोडिइसकेको छ । अर्को पाटोबाट हेर्दा फितलो नियमन र गैर व्यावसायिक प्रवृत्तिका कारण भर्खरै हुर्किन थालेको यो संस्कृतिले समाजमा अनेकन झन्झट पैदा गर्न थालिसकेको छ । ‘राइड सेयरिङ’का अनेक फाईदा हुँदाहुँदै पनि हामीकहाँ भने नियमनको अन्योल र पेशागत बेथितिका कारण भद्रगोल छ । अहिले बजारमा देखिएका यावत् बेथितिलाई समयमै निमयन गर्न सकेमात्रै ‘राइड सेयरिङ’ सार्वजनिक यातायातको विकल्प बन्न सक्छ ।
साझा प्रश्नको सास्ती !
सुरुवाती दिनमा पोशाक हेरेर नै राइडरलाई पहिचान गर्नसकिने व्यवस्थासहित राइड सेयरिङ सेवा प्रदान गरिएको थियो । यसबाट सेवाग्राहीहरु झुक्किनु नपर्नेमात्रै होइन, अन्य असम्बन्धित दुईपाङ्ग्रे सवारी चालकले ‘पठाओ’ हो ? ‘टुटल’ हो ? जस्ता साझा प्रश्नको उत्तर दिँदै हिंड्नुपर्ने बाध्यता समेत थिएन । राइडरहरुले ड्रेस कोडसहित विभिन्न ठाउँमा पर्खिएर यात्रु कुर्न थालेपछि ट्याक्सी चालक र अन्य यातायात व्यवसायीसँग विवाद हुने क्रम बढ्दै गयो । अन्ततः सेवा प्रदायकले राइडरको ड्रेसकोड हटाइदिए ।
राइडरले ड्रेस कोड प्रयोग गर्न छोडेपछि सर्वसाधारण चालकको हैरानी सुरु भयो । अचेल सेवाग्राहीले हरेकजसो दुईपाङ्ग्रे सवारी चालकलाई ‘राइडर’जस्तो ठान्छन् । ट्राफिक प्रहरीले प्रत्येक मोटरसाइकल चालकलाई राइडर भएको आशंकामा हप्काउँछन् ।
राजधानी शहरमा आम मोटरसाइकल चालकले दैनिक दर्जनौंपटक ‘म सामान्य चालक हुँ’ भन्दै विश्वासिलो स्पष्टीकरण दिनुपुर्ने अवस्था छ ।
अनौठो अनुभूति !
राजधानीको दैनिकीमा मोटरसाइकल चालक भएकै कारण ट्राफिक प्रहरी र यातायात व्यवसायीको हेला-होचो र अपमान बेहोर्नु पर्दछ । हिजोआज दुईपाङ्ग्रे भाडाका सवारीको कारण ट्राफिक प्रहरीले अन्यलाई पनि खेदिरहेको दृश्य कम्तीमा काठमाडौं उपत्यकाको लागि नौलो होईन । कुनै ठाउँमा रोक्दा, कसैलाई पर्खिँदा, छेउ लागेर मोबाइल फोन चलाउँदा प्रहरीले भाडाका ‘राइडर’कै रुपमा व्यवहार गर्ने गरेको अनुभव यो पंक्तिकार र आम मोटरसाइकल चालकको दैनिकीको यौटा पाटो भइसकेको छ । एकदिन भने त्यसको ठीक उल्टो अनुभूति गर्ने मौकासमेत मिल्यो ।
यो पंक्तिकार रत्न राज्यलक्ष्मी क्याम्पसको गेटनेर उभिएर क्याम्पस भित्रबाट आउने साथीलाई पर्खिरहेको थियो । युनिफर्ममै रहेकी एकजना महिला ट्राफिक प्रहरी अलि हतारजस्तो गरेर नजिकै आईन् । सामुन्नेमा आइनपुग्दै प्रश्न गरिन्- पठाओ हो ? जसलाई पर्खिरहेको हो त्यो व्यक्ति आउनुअघि नै ट्राफिक प्रहरी आइपुगेपछि मनमा निराशा छायो । यसपालि पनि खेदाइमा परिने भयो भन्ने बुझाईसहित स्पष्टीकरण दिएँ, म यही क्याम्पसको विद्यार्थी हुँ । क्याम्पसकै कामले यहाँ आएको ।
उनी अझै नजिक आएर मलाई भयमुक्त बनाउँदै भनिन्- म आफै कतै जानको लागि सोधेको हो । यसपालि ‘राइडर’ ठानेर ‘सेवा लिन’ आउने व्यक्ति अरु कोही नभएर ट्राफिक प्रहरी स्वयं थियो । म जिल्ल परेँ !
ती महिला प्रहरीलाई आफु यात्रुको प्रतीक्षामा नरहेको बताएपछि पारीपट्टीबाट सहकर्मीले सिट्ठी फुकेर दिएको ईशारा पछ्याउँदै उनले बाटो काटिन् ।
एकजना मित्रले सामाखुशीतिरको कुनै रेस्टुरेन्टमा ‘पार्टी’ सकेर अबेर साँझ त्रिपुरेश्वरसम्म आउनको लागि दुई पाङ्ग्रे बुक गरेछन् । मापसे गरेका उनलाई चोभार पुगेपछि राइडरले बाटो बिराएको याद भएछ । यसप्रकार ती मित्र सामाखुशीबाट चोभार हुँदै त्रिपुरेश्वर आइपुगेको किस्सा साथीभाईबीचको भेटघाटमा दोहोरिएर आइरहन्छ ।
अर्को एकजना मित्रसँग पुतलीसडकमा भेट्ने सल्लाह बमोजिम तोकिएको समयमै त्यहाँ पुगेको पंक्तिकारले धेरैबेरसम्म पर्खिनु पर्यो । निकै ढिलो गरी आइपुगेका ती मित्रले स्पष्टीकरण दिए- लाजिम्पाटबाट दुईपाङ्ग्रे’को अनलाईन सेवा लिएको थिएँ, नक्साल-भत्केको पुल हुँदै धोबीखोला किनारैकिनारको यात्रामा परियो । सेतोपुलनेर जाममा पर्दै डिल्लीबजार भएर पुतलीसडक आउँदा समयले नेटो काट्यो ।
अचेल भाडाका ‘दुईपाङ्ग्रे सवारी’ यात्राका बारेमा अनेक किस्सा सुन्न पाइन्छ । अनलाईन बुकिङ गर्दा सरकारी नम्बर प्लेटको सवारी साधन लिएर ‘रिसिभ’ गर्न आइपुगेको, विदेश जाने सिलसिलामा काठमान्डु आएका बखत राइड सेयरिङतिर लागेको, दाजुको बाइक नम्बर रजिस्टर गरेर भाईले स्कुटरमार्फत सेवा दिएको, अफिसबाट घर फर्कँदै गर्दा ‘राइडर’ बनेको आदि । यी सबै अनुभूति र किस्साको एउटै निष्कर्ष हो, राइड सेयरिङ भद्रगोल छ । चाहे त्यो सेवा लिने-दिने सन्दर्भ होस् वा नियमन नै किन नहोस् ।
‘क्राउड’देखि ‘क्राइम कनेक्सन’सम्म
अचेल बस स्टप, रेस्टुरेन्ट, कुनै पर्यटकीय स्थल वरिपरि मोटरसाइकल चालकहरु झुम्मिएको देखिन्छ । तीमध्ये कतिपयले सार्वजनिक सवारीका सहचालकले फलाकेजस्तै गरी ‘आउनुहोस् सस्तोमा लगिदिन्छु’ भनेको समेत सुन्न पाइन्छ । परम्परागत रुपमा ट्याक्सी चालकले गरेजस्तै यात्रुलाई घेराबन्दी गर्नेहरु समेत भेटिने गरेका छन् ।
आधिकारिक रुपमा सञ्चार माध्यममा आएका एकाध घटनामा राइड सेयरिङले अपराध र अपराधीलाई सहजीकरण गरेको तथा कतिपय अवस्थामा ‘राइडर’ स्वयं संलग्न भएका उदाहरण समेत छन् । यी प्रतिनिधि घटनाहरुको पाठ सुरक्षा र राइड सेयरिङको दुरुपयोगबाट हुने जोखिम न्युनीकरण गर्न महत्वपूर्ण हुनसक्छ ।
अनुभव, योग्यता र प्राविधिक पक्ष
राइड सेयरिङ सेवा आफैमा गलत हुँदै होईन । कुनैपनि व्यवसाय आफैमा ठीक होकि होईन भन्ने प्रश्नभन्दा पनि समाजमा त्यसको अभ्यास कसरी हुन्छ ? भन्ने विषय महत्वपूर्ण हुन आउँछ । हाम्रो अनुभवले राइड सेयरिङलाई जोखिममुक्त र स्वस्थ व्यवसायको रुपमा सञ्चालन गर्नका लागि धेरै विषयको सम्बोधन हुनुपर्ने देखिन्छ ।
आमजनमा वैकल्पिक सवारी साधनको रुपमा लोकप्रिय भइसक्दा पनि नियामक निकायले हालसम्म ‘राइडर’को अनुभव, योग्यता र सवारी साधनको प्राविधिक पक्षलाई सम्बोधन गर्नसकेको देखिँदैन । सेवाग्राहीले अनलाईन वा अफलाईन बुकिङ गरी प्रयोग गर्ने सवारी चालकको योग्यता, अनुभव र सवारी साधनको प्राविधिक पक्षबारे खासै जानकारी नपाउने अवस्था तत्काल अन्त्य हुनु जरुरी छ ।
नियमन अत्यावश्यक
‘राइड सेयरिङ’को नयाँ संस्कृतिले पैदा गरेका बेथिति र दिक्दारीबाट मुक्त हुने एकमात्रै उपाय यसको उचित नियमन हो । निजी सवारी साधनलाई भाडाको सवारी साधनको रुपमा प्रयोग गर्न मिल्ने स्पष्ट कानूनी व्यवस्था आवश्यक छ । साथै हाल देखिएका सबै विसङ्गति निमिट्यान्न पार्ने नियमन पद्दतिको विकास गर्नसकेमात्रै सार्वजनिक यातायात क्षेत्रको बेथितिबाट दिक्क आम मानिसको लागि उपयुक्त विकल्प बन्न सक्छ ।
ड्रेस कोडसहित चालकको न्युनतम अनुभव, योग्यता र सवारीको प्राविधिक तथा कानूनी अवस्था समेत सेवाग्राहीले प्रष्ट बुझ्न पाउने प्रणालीको विकास गर्नु जरूरी छ । अन्यथा, सार्वजनिक यातायातको बजारमा अर्को यौटा भद्रगोल थपिनु आम नागरिक उत्साहित हुनुपर्ने विषय हुँदै होईन ।
एकाध कम्पनीको बिजनेस र दुईचार हजार व्यक्तिको रोजगारीको कारण मोटरसाइकल चढ्ने प्रत्येक व्यक्तिले सेवाग्राही, ट्राफिक प्रहरी र कतिपय स्थानीय समेतलाई बित्थामा स्पष्टीकरण दिनुपरेको छ । आम सर्वसाधारणलाई यो हैरानीबाट मुक्त गर्ने बारेमा नियामक निकायले सोच्नु ढिलो भइसकेको छ ।
समसामयिक र सामाजिक मुद्दाकेन्द्रित यो स्तम्भ हरेक सोमबार प्रकाशन हुन्छ । स्तम्भको शीर्षकमा प्रयोग गरिएको स्केच मध्यपहाडी लोकमार्गको उद्गम बिन्दु पाँचथर जिल्लाको चिवाभञ्ज्याङ नजिकै पर्ने नागबेली सडक हो । -सम्पादक