४ पुष २०८१, बिहीबार

पास गरेकालाई अलपत्र बनाएर फेरि खुलाइयो कोरियन भाषाको परीक्षा आवेदन


काठमाडौं । कोरियन भाषा उत्तिर्ण गरेका करिब १३ हजार नेपालीहरु कोरिया जान पाएनन् । विभिन्न लटमा उत्तिर्ण गरेका उनीहरुको रोजगारी अझैसम्म पनि अन्योल बनिरहेको छ ।

यसरी रोजगारी नपाएका नागरिकहरुले बेला–बेला वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखा अगाडि आन्दोलन पनि गर्ने गरेका छन् । हजारौंका संख्यामा भाषा उत्तिर्ण गरी सबै प्रक्रिया पुरा गरेका नागरिकलाई अलपत्र बनाएर इपिएस कोरिया शाखाले भने फेरि भाषा परीक्षाको आवेदन खुला गरेको छ ।

भाषा उत्तिर्ण गरेका युवाहरुले आन्दोलन गरेकै बखत आइतबार इपिएस शाखाले आवेदन खुल्ला गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न भन्दै भाषा परीक्षाको निम्ति आवेदन खुलाइएको छ ।

इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीका अनुसार यही साउन २० देखि २४ गतेसम्मका लागि आवेदन मागिएको हो । उनका अनुसार माग संख्याअनुरुप भाषा परीक्षा उत्र्तिण हुनेले उक्त कम्पनीमा काम गर्न जान पाउनेछन् ।

तर, यसअघिको परीक्षामा उत्तिर्ण परीक्षार्थीको विषयमा भने इपिएस शाखाले कुनै निर्णय लिएको छैन । इपिएस शाखाका अनुसार सन् २००८ देखि हालसम्म करिब ६५ हजारको संख्यामा नेपालीहरु रोजगारीको शिलशिलामा भाषा परीक्षा उत्तिर्ण गरी कोरिया गएका छन् । जसमध्ये करिब १३ हजार जना जान पाएका छैनन् ।

इपिएस शाखा रोजगारदाताको रोजाईअनुसार कामदार छनोट हुने हुँदा आफूहरुको भूमिका खास नहुने भन्दै पन्छिने गरेको छ । इपिएस शाखाको मनलागी यस्ता उदासिनताका कारण हजारौं युवाहरु एकातिर बेरोजगार बसिरहेका छन् भने अर्कोतिर निकै ठूलो अन्योलमा पनि गुज्रेका छन् ।

ताजा समाचार