३० मंसिर २०८१, आईतवार

‘अन्तर्राष्ट्रिय विमानस्थलको अपनत्व पोखराले लिएको छ, जसरी पनि चलाउनुपर्छ’


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि पोखरेली, व्यवसायी र समग्र नेपाली जनताको अनुहारमा देखिएको खुसी अहिले मलिन बनेको छ, कारण हो यसको संचालन हुन नसक्नु ।

यसका लागि एउटा कोणबाट सरकार र सरकारी अधिकारीहरूले अधिकतम पहल नगरेको आरोप लाग्ने गरेको छ भने अर्को कोणबाट हेर्दा नेपालले भू-राजनीतिक सन्तुलन बनाइरहन नसक्दा समस्या आएको जस्तो पनि देखिन्छ । तर एउटा आशावादी पर्यटन व्यवसायीको नजरमा समस्या र समाधान के होला ?

हामीले यही विषयमा पोखरास्थित पीस प्लाजा होटेलका संचालक तथा होटेल एसोसियसन नेपालका कार्यसमिति सदस्य भरतराज पराजुलीलाई सोधेका थियौं । उनले सरकारले अधिकतम पहल गर्नुपर्नेमा विशेष जोड दिए । प्रस्तुत छ उनीसँग आर्थिक वेभले गरेको कुराकानीको सम्पादित अंश :

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि तपाईंहरू कत्तिको उत्साहित हुनुहुन्छ ?

पर्यटन व्यवसायीको विशेष पहल र अन्य व्यवसायी र राजनीतिक दलहरूको विशेष पहलमा यो अन्तर्राष्ट्रिय बनेको हो । यसमा हाम्रो ठूलो त्याग तपस्या छ । आन्दोलन, अनसन, हरेक हिसाबले शक्ति प्रदर्शन गरेर यो बन्न सफल भएको हो । त्यसकारण हामी उत्साहित नहुने भन्ने कुरै रहेन ।

२०३०/३२ सालदेखि कै सपना थियो नि पोखरेलीहरूको हैन ?

पोखरामा कुनै दिन अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ, यहाँको जनसंख्या बढ्छ भनेर जसले चिन्तन गरेर विमानस्थलका लागि जग्गा छुट्याएर राखिदिनुभयो, उहाँहरूका लागि ठूलो सम्मान छ । त्यसपश्चात यसको निर्माणका लागि पोखरेलीहरूले ठूलो बलिदानी जस्तै गर्नुपर्यो ।

हामीले शुरुवात त गर्यौं, तर तत्काल हामीले फाइदा लिन सकेका छैनौं । विमानस्थल सुचारू हुने समयमा एउटा ठूलो दुर्घटना पनि भयो र त्यसले ठूलो असर पार्यो । तर विमानस्थलबाट नेपालका सम्पूर्ण अरू विमानस्थलसम्म उडान अवतरण गर्ने स्थिति थिएन । डोमेस्टिकका लागि पनि त्यो सानै थियो र त्यसलाई सार्नैपर्ने थियो । अन्तर्राष्ट्रिय हिसाबले पनि पोखरा पर्यटकीय राजधानी हो त्यसैले पोखरालाई छुनै पर्ने अवस्था थियो ।

क्षेत्रीय अन्तर्राष्ट्रिय किन भनिएको हो भने यहाँबाट भारतको दिल्ली, मुम्बई, पटनासम्म फ्लाइट संचालन गर्न सकिन्छ भने त्यस्तै गरेर बैंकक, चीनका कतिपय शहरहरू, मध्यपूर्व लगायत ठाउँमा पनि उडान अवतरण गर्न सकिन्छ । त्यो अहिलेको अनिवार्य आवश्यकता हो ।

यो त खुसीको कुरा भयो । तर संचालनमा आएको यतिका दिनसम्म पनि अन्तर्राष्ट्रिय उडान नहुनुले पोखरेलीहरू दुखी कत्तिको छन् ?

यसका लागि सरकार र यसका निकायहरूले जसरी विशेष पहल गर्नुपर्थ्यो, त्यो नगरेको देखिएको छ । किनभने, अस्ति पनि कतारी राजदूतले एउटा स्टेटमेन्ट दिएका थिए । उनले कतारले ६ पटकसम्म पनि सरकारलाई पोखरा विमानस्थलमा उडानका लागि अनुरोध गर्दा पनि जवाफ नआएको भनेका थिए । त्यसले एउटा दुखको वातावरण पैदा गरेको छ ।

यही अक्टोबर नोभेम्बर (पर्यटकीय सिजन)का लागि विभिन्न देशहरूबाट बुकिङ राम्रो भइरहेको छ । तर त्यो काठमाडौँका लागि मात्र भयो । हामीले पोखरा संचालन गर्न सकेको भए तीमध्ये कतिपय बुकिङ यताका लागि हुने थिए । जस्तै जापानकै कुरा गर्न हो भने नेपालमा अक्टोबर/नोभेम्बरका लागि टिकट नै छैन । दशैं तिहारमा नेपालीहरू पनि आउने र विदेशी पनि हिमाल हेर्न भनेर आउने सिजन हो ।

काठमाडौँको एयरपोर्टले थाम्नै सक्दैन । पोखरा चल्न सकेको छैन, यहीं ठूलो विरोधाभास छ । यसमा सरकारकै पहल पुगिरहेको छैन ।

यो पहल भनेको कस्तो हो ? त्यत्रो खर्च गरेर सरकारले नै बनाएको विमानस्थल घाटामा जाओस् भनेर सरकारले नै किन चाहला र ? मन्त्रीलगायत कतिपय सरकारी अधिकारीहरूले हामीले विशेष पहल गरिरहेका छौं भनेर दाबी गरिरहेका छन् नि !

कस्तो लाग्न थालिसक्यो मलाई भने यिनीहरू बाध्यकारी भएर  विमानस्थल त बनाए । पोखरामा अन्तर्राष्ट्रिय विमान सुचारु भयो भने काठमाडौँका धेरै पाँच तारे होटेलहरू सुक्छन् भन्ने डरमा एउटा व्यवसायीको समूह बाँचिरहेको छ । त्यही समूहको प्रभावमा सरकारी अधिकारीहरू परे कि भन्ने मलाई लाग्छ । एउटा प्लेन आउँदा एउटा पाँचतारे होटेलको १२/१५ वटा रूम अकुपाई हुन्छन् ।

उनीहरूले अधिकतम पहल भने पनि त्यो देखिएको छैन र त्यसको कारण के हो, मैले पनि बुझ्न सकेको छैन । यत्रो खर्च गरिसकेपछि पनि पहल किन पुगेको छैन त ?

यस्तो भएको कतै चीनले बीआरआई भन्ने, नेपालले हैन भन्ने, भारतीयमा चीनको विमानस्थल हो भन्ने भ्रमका कारण त होइन ?

हिजो मात्र पनि मैले भारतको एउटा ट्राभल एजेन्सीसँग कुरा गर्दा पनि उनीहरूले पोखरालाई चाइनाको एयरपोर्ट हो भनेर भनेका थिए । मैले यो चीनियाँ लगानीमा ठेक्कामा बनेको नेपालकै एयरपोर्ट हो भनेर सम्झाउने प्रयास गरें ।

कहीं कतै हामीले भारत र चीनसँगको सम्बन्धमा सन्तुलन ल्याउन नसक्दाको परिणाम पनि हो भन्न मिल्छ यसलाई । कोही यता ढल्किन्छन्, कोही उता ढल्किन्छन्, समस्या त्यही हो ।

अनि चिनियाँ ऋणमा बनेकाले समस्या आएको त होइन भन्ने एकाथरीको बुझाइ छ, पोखरेलीको बुझाइ कस्तो छ ?

जब चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गतको भनेर भन्यो र नेपालले त्यसको खण्डन गर्यो त्यहीं बीचको बुझाइमा धेरैजसो अन्तर देखिन्छ । कतिपय चिनियाँ डिप्लोम्याटहरूले यसलाई राम्रोसँग संचालन गर्न सके चिनियाँ सरकारकै तर्फबाट पनि थप सहुलियत हुन सक्छ जस्तो कुराकानी गर्ने गर्छन् ।

यसमा पोखरेलीहरूको मनोविज्ञानको कुरा गर्ने हो भने एकदिन यसलाई जसरी पनि संचालन गर्न सकिन्छ भन्ने नै छ । अन्तर्राष्ट्रिय मात्र होइन, देशभित्रकै पूर्वदेखि पश्चिम सम्मका सबै एयरपोर्टसम्म यसको एक्सेस पुग्छ भन्ने आत्मविश्वास पोखरेलीमा छ । यो विमानस्थल जसरी पनि चलाउनै पर्छ र चल्नु पर्छ भन्ने मान्यता छ पोखरेलीहरूको ।

तपाईंको आँखाबाट यो विमानस्थल अक्टोबर/नोभेम्बरसम्म चल्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

कोभिड लगभग निर्मुल भइसकेको अवस्था छ भने विश्वव्यापी अर्थतन्त्रको समस्या पनि बिस्तारै समाधान हुँदै गइरहेको छ । त्यसलाई एउटा कारण मान्दा पनि यो विमानस्थल नचल्नुपर्ने अर्को कुनै कारण छैन । नेपालीहरू समेत घुमघामका लागि बाहिर निस्कन थालेका छन् भने विदेशीहरूमा त यो एउटा चलन नै छ । त्यसकारण सरकारले गर्ने पहल नै मुख्य कुरा हो । पहल पुग्यो भने यही पर्यटकीय सिजनदेखि पोखरामा विदेशी जहाजहरू आवतजावत गरेको देख्न पाइन्छ ।

अर्को एउटा समस्या के हो भने एयरलाइन्सहरूको भाडा अन्तर्राष्ट्रिय हिसाबले नै एकदम बढेको छ । नेपालबाट जापान, अष्ट्रेलिया, अमेरिका, युरोपको भाडा पहिलाको तुलनामा अहिले बढेको छ । तर त्यो पनि विश्वव्यापी रूपमै बढेकाले त्यसले यहाँ विमानस्थल संचालनमा अवरोध गर्छ भन्ने होइन ।

जे होस्, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरेलीहरू खुसी र आशावादी छन् भन्ने तपाईंको निष्कर्ष हो ?

पोखरेलीहरू आशावादी छन् भन्ने त मैले पहिल्यै पनि भनिसकें । तर कोभिडपछि भर्खर राम्रो हुँदै गइरहेको पोखराको पर्यटन क्षेत्रले के अनुभव गरेको छ भने यदि यो सिजन पनि पहिलाको जस्तै राम्रो भएन भने यहाँबाट धेरै पर्यटन व्यवसायीहरू पलायन हुनेवाला छन् । मैले हात जोडेर सरकारसँग भन्नुपर्छ – यसलाई राम्रो बनाउन अधिकतम पहल गरियोस्, व्यवसायी र समग्रमा नेपालकै हित त्यसैमा छ ।

पढ्नुहोस यो पनि –

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : चलाउनतिर लाग्ने कि विरोध मात्र गरिरहने ?

नाफाघाटाको ‘राजनीतिमा’ रुमल्लिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : चलाउने पहल गर्ने कसले ? [शृंखला २ ]

 

आदारणीय पाठकवृन्द, हामीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरू व्यवसायीक रूपमा सफल या असफल होलान्, दुवै विमानस्थलका प्राविधिक पक्षहरू के हुन्, अन्तर्राष्ट्रिय भू-राजनीतिक दृष्टिकोण के हो, स्थानीयबासी यी दुवै विमानस्थललाई लिएर कति खुसी कति छन् जस्ता विषयलाई लिएर शृंखलाबद्ध खोजी स्टोरी गरिरहेका छौं । यहाँहरूको पनि आफ्नो केही राय तथा प्रतिक्रिया भए [email protected] मा पठाएर सहयोग गरिदिनु होला । – सम्पादक 

ताजा समाचार