गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूमध्ये प्रतिसेयर आम्दानीमा एनआईसी एशिया बैंक अब्बल देखिएको छ । यो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यो रकम ३९ रुपैयाँ १३ पैसा थियो ।
एनआईसी एशियापछि राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९६ पैसा छ । अघिल्लो आवमा यो बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८५ पैसा थियो । अघिल्लो आवमा २६ रुपैयाँ ३ पैसा प्रतिसेयर आम्दानी रहेको एभरेष्ट बैंकको गत आवमा ३१ रुपैयाँ ७२ पैसा पुगेको छ ।
नबिल बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा रहँदा ग्लोबल आइएमईको २० रुपैयाँ ७७ पैसा, कृषि विकास बैंकको २० रुपैयाँ ६२ पैसा, नेपाल एसबिआई बैंकको २२ रुपैयाँ १५ पैसा, नेपाल बैंकको २३ रुपैयाँ २२ पैसा र सिद्धार्थ बैंकको २२ रुपैयाँ ६४ पैसा छ । यस्तै सानिमा बैंकको २१ रुपैयाँ ०२ पैसा प्रतिसेयर आम्दानी छ ।
गत आवमा २० रुपैयाँभन्दा बढी प्रतिसेयर आम्दानी हुने बैंक ७ वटामात्रै छन् । १० देखि २० रुपैयाँसम्म प्रतिसेयर आम्दानी हुने बैंक ८ वटा छन् । लक्ष्मी सनराइज बैंकको १९ रुपैयाँ ४४ पैसा, हिमालयन बैंकको १९ रुपैयाँ १९ पैसा, एनएमबि बैंकको १८ रुपैयाँ ५७ पैसा र माछापुच्छ्रे बैंकको १८ रुपैयाँ ०५ पैसा छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १६ रुपैयाँ ०७ पैसा प्रतिसेयर आम्दानी रहँदा सिटिजन्स बैंकको १५ रुपैयाँ ५९ पैसा छ । प्रभु बैंकको १२ रुपैयाँ प्रतिसेयर आम्दानी रहँदा प्राइम बैंकको ११ रुपैयाँ ६६ पैसा छ । गत आवमा १० रुपैयाँभन्दा कम प्रतिसेयर आम्दानी हुनेमा कुमारी बैंकमात्रै छ । गत आवमा कुमारीको ७ रुपैयाँ ४६ पैसा प्रतिसेयर आम्दानी छ ।
के हो प्रतिसेयर आम्दानी ?
कुनै पनि कम्पनीको प्रतिसेयर आम्दानीको आधारमा लगानीकर्तालाई दिइने लाभांश अनुमान गरिन्छ । कम्पनीको खुद नाफा र जारी साधारण सेयरको अनुपातलाई प्रतिसेयर आम्दानी भनिन्छ ।
सेयर बजारका लगानीकर्ताले हेर्ने कम्पनीको सूचकमध्ये सबैभन्दा महत्वपूर्ण प्रतिसेयर आम्दानी पनि हो । कुनै कम्पनीको प्रतिसेयर आम्दानी धेरै भएमा त्यस्तो कम्पनीले लगानीकर्तालाई धेरै लाभांश दिन सक्ने अनुमान गरिन्छ । प्रतिसेयर आम्दानी धेरै भएका बैंकलाई राम्रो र सबल बैंक मानिन्छ भने कम भएकालाई कमसल आकलन गरिन्छ ।