निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ ।
अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत आवमा व्यवसायमा सामान्य वृद्धि भई ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । जुन २.६६ प्रतिशतको वृद्धि हो । गत आवमा यस्ता बीमा कम्पनीहरूले २७ लाख ९२ हजार ५१३ बीमालेख जारी गरेका छन् ।
बीमा कम्पनीहरूबीच बीमालेख संकलनका लागि होडबाजी नै चलेको तथ्यांकले देखाउँछ । वृद्धिदरका आधारमा प्रभु इन्स्योरेन्स सबैभन्दा अगाडि छ । कुल बीमा शुल्क संकलनमा भने शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि छ । शिखर इन्स्योरेन्स कम्पनीले गत आवमा पाँच अर्ब ३१ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवमा सबैभन्दा धेरै निर्जीवन बीमा व्यवसाय शिखर इन्स्योरेन्सले गरेको हो ।
यस्तै व्यवसायको आकारका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले चार अर्ब ५८ करोड रुपैयाँ कुल बीमा व्यवसाय गरेको छ । यसको व्यवसाय वृद्धिदर भने ६.९७ प्रतिशत ऋणात्मक छ । प्राधिकरणका अनुसार, प्रभु इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा २२.२० प्रतिशतले बीमा व्यवसाय वृद्धि गरेको छ । अघिल्लो आवमा एक अर्ब ३५ करोड रुपैयाँ बीमा व्यवसाय गरेको यस कम्पनीले गत आवमा एक अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो ।
यस्तै सानिमा जिआईसीले व्यवसायमा १९.४८ प्रतिशतले वृद्धि गर्दै गत आवमा दुई अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आवमा एक अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्सले १२.३९ प्रतिशतले बीमा व्यवसाय वृद्धि गर्दै एक अर्ब एक करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
प्राधिकरणका अनुसार, आईजीई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा व्यवसाय ९.०६ प्रतिशतले वृद्धि हुँदै तीन अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । अघिल्लो आवमा कम्पनीले तीन अर्ब १० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सबैभन्दा धेरै व्यवसाय गिरावट हुनेमा राष्ट्रिय बीमा कम्पनीको १२.७१ प्रतिशतको ऋणात्मक छ । अघिल्लो आवमा दुई अर्ब ६४ करोडको व्यवसाय गरेको कम्पनीले चालु आवमा दुई अर्ब ३१ करोडको मात्रै व्यवसाय गरेको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियर कम्पनीको व्यवसाय ६.९७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा चार अर्ब ७५ करोड बीमा शुल्क संकलन गरेकोमा कम्पनीले गत आवमा चार अर्ब ४२ करोड रुपैयाँमात्रै संकलन गर्न सकेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको व्यवसाय २.३२ प्रतिशतले ऋणात्मक हुँदा नेपाल इन्स्योरेन्स कम्पनीको ०.३७ प्रतिशतले बढेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको २.११ प्रतिशत, नेको इन्स्योरेन्स कम्पनीको २.४० प्रतिशत, शिखर इन्स्योरेन्स कम्पनीको ६.१३ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको ६.२७ प्रतिशत बढेको छ । गत आवमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चार अर्ब ४२ करोडको व्यवसाय गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको व्यवसाय तीन अर्ब ४१ करोड रुपैयाँ हुँदा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको व्यवसाय तीन अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।
सबैभन्दा पहिलो मर्जरमा गएको बीमा कम्पनी हिमालयन एभरेष्टको कुल बीमा व्यवसाय तीन अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यस्तै नेको इन्स्योरेन्स कम्पनीको दुई अर्ब ९२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीको दुई अर्ब ४० करोड रुपैयाँ, सानिमा जिआईसीको दुई अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
नेशनल इन्स्योरेन्स कम्पनीले भने सबैभन्दा कम एक अर्ब रुपैयाँको व्यवसाय गरेको छ । अर्को भारतीय कम्पनी ओरियन्टलले एक अर्ब ४९ करोडको व्यवसाय गरेको छ । नेपाली बीमा कम्पनीहरूमा नेपाल इन्स्योरेन्सले सबैभन्दा कम एक अर्ब ५८ करोडको व्यवसाय गरेको छ । प्राधिकरणका अनुसार यी कम्पनीहरूले गत असारमा मात्रै दुई लाख ५५ हजार ९७ वटा बीमा पोलिसी बिक्री गरी चार अर्ब एक करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
बागमतीमा सबैभन्दा बढी
निर्जीवन बीमा व्यवसाय सबैभन्दा बढी बागमती प्रदेशमा फस्टाएको छ । यस प्रदेशमा १२ लाख ७४ हजार २९० वटा निर्जीवन बीमालेख जारी भएका छन् । लघुबीमा पनि बागमती प्रदेशमै बढी छ । यस प्रदेशमा आठ हजार ८५८ वटा निर्जीवनतर्फ लघु बीमालेख बिक्री भएको छ ।
कृषि तथा बाली बीमा पनि बागमती प्रदेशमै बढी भएको तथ्यांकले देखाएको छ । ७१ हजार ८२४ वटा कृषि तथा बाली बीमालेख बागमती प्रदेशमा बिक्री भएको हो । यस प्रदेशमा आठ लाख ३३ हजार ९० वटा मोटर बीमालेख जारी हुँदा हवाईतर्फ १४३, सामुद्रिकतर्फ ६२ हजार १२२, सम्पत्तितर्फ एक लाख ७८ हजार सात, इन्जिन तथा ठेक्कातर्फ १६ हजार ९२७ र विविधतर्फ एक लाख तीन हजार २२९ वटा बीमालेख जारी भएका छन् । जुन अन्य प्रदेशमा भन्दा धेरै हो ।
कर्णाली प्रदेशमा सबैभन्दा कम निर्जीवन बीमा व्यवसाय भएको छ । प्राधिकरणका अनुसार यस प्रदेशमा गत आवमा ६२ हजार १७१ वटामात्रै बीमालेख जारी भएका छन् । अन्य प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा एक लाख ४१ हजार ७११, लुम्बिनी प्रदेशमा चार लाख ३२ हजार ४९७, गण्डकी प्रदेशमा दुई लाख ७४ हजार ६३०, मधेश प्रदेशमा दुई लाख ५७ हजार ६८९ र कोशी प्रदेशमा तीन लाख ५८ हजार ८३४ बीमालेख जारी भएका छन् ।