अघिल्ला साताहरूमा जस्तै यो साता पनि सेयर बजारमा उतारचढाव कायमै रह्यो । साताभरमा सेयर बजार दुई दिन सकारात्मक हुँदा अन्य दिन ऋणात्मक रहन पुग्यो ।
साताको पहिलो दिन आइतबार र कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढे पनि अन्य दिन भने नेप्से परिसूचक घटेको छ ।
गत साता केही बढेको सेयर बजारले लय पक्रिन नसक्दा यस साता २ हजार विन्दुको आसपासमा परिसूचक झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार सेयर बजार २०३३.१३ विन्दुमा छ ।
गत साताको अन्तिम कारोबार दिन (बिहीबार) परिसूचक २०८०.८६ विन्दुमा उक्लिएको थियो, जुन सो साताकै उच्च थियो ।
गत साता २१०० विन्दुमा बजार जाने प्रयास गरे पनि यस साताको निरन्तरको गिरावटले त्यसो भएन । यद्यपि, परिसूचक २ हजार विन्दु नजिक रहेको छ ।
गत आइतबार २०८०.८६ विन्दुमा रहेको नेप्से परिसूचक क्रमशः घट्दै बिहीबारसम्ममा २०३३.१३ विन्दुमा झरेको छ ।
गत आइतबार १४.८१ अंकले वृद्धि भएको परिसूचक सोमबार ३.६१ अंकले गिरावट भएको थियो । सो गिरावटले बुधबारसम्म नै निरन्तरता पायो ।
मंगलबार ३१.८० अंकको गिरावट आई २०४५.४४ विन्दुमा झरेको थियो । बुधबार २०.३१ अंकले घटी परिसूचक २०२५.१२ को विन्दुमा झर्यो । बिहीबार भने बजार सकारात्मक रह्यो । परिसूचक ८.०१ अंकले बढ्दै २०३३.१३ विन्दुमा बन्द भएको छ ।
मौद्रिक नीतिपछि लगातार गिरावट आएको सेयर बजारमा गत साता भने केही सुधार देखिएको थियो । यो सुधार यस साताको पहिलो दिन देखिए पनि बाँकी दिन बजार अनुकूल रहेन ।
आइतबार करिब २ अर्बको हाराहारीमा सेयर किनबेच भएको थियो । पछिल्लो साता सेयर बजार नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरण र बैंक ब्याजदरबाट बढी निर्दे शित भएको देखिन्छ । ब्याजदर घट्ला वा बढ्ला भन्ने मनोविज्ञानले यस साता सेयर बजारमा प्रभाव पारेको जानकारहरू बताउँछन् ।
पछिल्लो समय सेयर लगानीकर्ता राज्य वा नियामक निकायसँग रुष्ट बनेका छन् । यसको असर पनि बजारमा देखिने गरेको विश्लेषकहरूको बुझाइ छ । विगत दुई वर्षदेखि सेयर बजारलाई कडा गर्ने नीति राष्ट्र बैंकले लिएको थियो ।
चालु आवको मौद्रिक नीतिमार्फत सहज नीति लिने अपेक्षा लगानीकर्ताको थियो । यद्यपि, उनीहरूको अपेक्षा राष्ट्र बैंकले पूरा गर्न सकेन । लगानीकर्ताको अपेक्षा र नियामक निकायको नीतिबीच ‘ट्युनिङ’ नमिल्दा बजारलाई असर परेको विश्लेषकहरू बताउँछन् ।
पुँजी बजार विश्लेषक मुक्ति अर्यालले पछिल्लो समय राज्य वा नियामक निकायले सेयर बजारलाई सही ढंगले नीति दिन नसक्दा बजारमा गिरावट आएको बताए । बजार उत्साहित नहुनुमा लगानीकर्ताको अपेक्षा पूरा नहुनु नै भएको उनी बताउँछन् । ‘मौद्रिक नीतिले अपेक्षा पूरा नगर्दा लगानीकर्ता खुशी भएनन्, जसको असर बजारमा देखिएको हो,’ अर्यालले भने ।
सेयर बजारमा नियामकीय भूमिका निकै नकारात्मक भएको र लगानीकर्ताले पनि त्यसलाई धेरै नै मानिदिएपछि बजारमा समस्या आएको उनी बताउँछन् ।
‘लगानीकर्ता छिटो आत्तिने र छिटो मात्तिने गर्दा समस्या आइरहेको छ । कुनै पनि नीतिले कस्तो प्रभाव पार्छ भन्ने विश्लेषण गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
अहिलेको अवस्थामा सेयर बजार कहिले उकालो यात्रामा लाग्छ भन्ने अन्योल रहिरहेको उनको भनाइ छ । विश्लेषकहरू मात्रै हैन, लगानीकर्ताको भनाइ पनि उस्तै छ ।
मौद्रिक नीतिकै कारण बजारमा गिरावट आएको लगानीकर्ताबताउँछन् । यद्यपि, बजार विस्तारै उकालो लाग्दै जानेमा भने लगानीकर्ता आशावादी छन् ।
धितोपत्र बोर्डको स्वीकृतिपछि नयाँ ब्रोकरहरू बजारमा आउँदा पनि लगानीकर्ता खुशी छन् । बैंकको ब्याजदर पनि केही घट्ने क्रममा रहेको, बैंकमा लगानीयोग्य रकम पर्याप्त मात्रामा रहेको जस्ता कारण पनि सेयर बजार अब विस्तारै उकालो यात्रामा लाग्ने लगानीकर्ता बताउँछन् ।