सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको आठौँ संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ ।
लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने ‘आईसीटी अवार्ड’मा यस वर्ष १३ विधासहित सातै प्रदेशका स्टर्टाअपहरूलाई सम्मान गर्नेगरी आवेदन खुल्ला गरिएको हो ।
आयोजकका अनुसार यस वर्ष आईटी प्रोफेसनलहरूलाई लक्षित गरेर प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३ विधा थप गरिएको छ ।
अवार्डमा स्टार्टअप तथा इन्नोभेसनसम्बन्धी विधाहरूमा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधाहरू रहेका छन् ।
यसैगरी व्यक्तिगत उपलब्धिको आधारमा प्रदान गरिने विधाहरूमा प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा र वुमन आईकन आईसीटी अवार्ड विधाहरू समावेश छन् ।
डिजिटल रूपान्तरणमा अभ्यासरत संस्थाहरूलाई प्रदान गर्ने अवार्ड विधाहरूमा डिजिटल एजुकेसन पब्लिक र प्राइभेट सेक्टर, डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२३ रहेका छन् ।
यसैगरी सार्क देशहरूका स्र्टाटअपहरूलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३ विधामा पनि नोमिनेसन खुला जारी छ ।
सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारितरूपमा आयोजना हुँदै आइरहेको छ । यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’ पनि सुरु गरेको छ ।
सातै प्रदेश र काठमाडौंमा प्रि-इभेन्टको रूपमा स्टार्टअप एण्ड आईडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।
यसैगरी स्टार्टअप, आईडिया र इनोभेसनको पिचिङसहित छनोट प्रक्रियालाई कान्तिपुर टेलिभिजनमार्फत पनि विशेष एपिसोड प्रसारण गरिने आयोजकले जनाएको छ । आईसीटी अवार्डको छनोट प्रक्रिया नेपालमा हुने अवार्डमध्ये सबैभन्दा बृहत्, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ ।
भदौ तेस्रो हप्तादेखि सञ्चालन हुने अवार्डको छनोट प्रक्रियाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेसन सेसनहरू सञ्चालन हुनेछन् ।
जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिसहित १४ जना विज्ञ रहेका छन् भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यक्तिहरू रहेका छन् ।
साउथ एसिया स्टार्टअप अवार्डका लागि भारत, बंगलादेश, पाकिस्तान, श्रीलङ्कालगायतका देशहरूबाट विज्ञ जुरी समितिमार्फत छनोट प्रक्रिया सञ्चालन गरिने बताइएको छ ।
आवेदन दर्ताको लागि आधिकारिक वेबसाइट आईसीटी अवार्ड डट ओआरजीमार्फत विवरण बुझाउन सकिन्छ ।
आफू स्वयम् वा अन्य कोहीले सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाको सम्पूणर् विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिनेछ ।
स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाको लागि भदौ १५ र अन्यको लागि भदौ ३१ गतेसम्म नोमिनेसन बुझाउन सकिने आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।