१० पुष २०८१, बुधबार

सेयर बजारमा अल्पकालीन लगानीकर्ता हाबी


पछिल्ला केही महिनामा जस्तै यो साता पनि सेयर बजारको उतारचढाव कायमै देखिएको छ । अल्पकालीन लगानीकर्ता (ट्रेडर) हाबी हुँदा बजारमा उतारचढाव देखिएको हो । साताका पाँच कारोबार दिनमध्ये सोमबार नेप्से परिसूचक दुई हजारभन्दा तल झर्न पुग्यो । उक्त दिन १९९८.२९ विन्दुमा नेप्से परिसूचक झरेको थियो ।

अघिल्लो बिहीबार २०३३.१४ विन्दुमा रहेको नेप्से परिसूचक सोमबारसम्म निरन्तर घट्न पुग्यो । मंगलबार र बुधबार नेप्से बढ्यो भने बिहीबार फेरि घट्यो । सेयर बजार विश्लेषकहरू सरकारले घरजग्गाको कित्ताकाट खुलाएकाले लगानीकर्ताको मनोबल बढेको बताउँछन् । यद्यपि, सेयर बजारमा बढेको यो मनोबल त्यति स्थिर भने छैन । समग्रमा अर्थतन्त्रमा देखिएको सुस्तताले सेयर बजारको दिशानिर्देशन भइरहेको विश्लेषकहरूको बुझाइ छ । यस साताको पहिलो दिन नेप्से आइतबार २०११.२२ विन्दुमा उक्लिएको थियो । सोमबार दुई हजारभन्दा तलको विन्दुमा झरेको नेप्से परिसूचक मंगलबार २०१५.९९, बुधबार २०४५.४६ र बिहीबार २०१३.९३ विन्दुमा झरेर बन्द भयो ।

घटेको बजारमा एकाध खरिदकर्ता सक्रिय भए पनि पुनः विक्रेता नै हाबी भएका थिए । पछिल्लो समय धेरैजसो लगानीकर्ताले अल्पकालीन रुपमा लगानी गर्ने गरेका छन् । अल्पकालीन लगानीकर्ता (ट्रेडर)ले प्रतिफल आउनेबित्तिकै सेयर बिक्री गरिहाल्छन् । सोही कारण बजार केही दिन बढ्नेबित्तिकै घट्ने गरेको विज्ञहरूको विश्लेषण छ ।

साताभर कारोबार रकममा पनि उतारचढाव कायमै रहन पुग्यो । गत बिहीबार १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकमका आधारमा यस साता सबैभन्दा कम मंगलबार हुन पुग्यो । यस दिन १ अर्ब ३३ करोडको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेप्से परिसूचक बढे पनि अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम घटेको हो । गत आइतबार कारोबार रकम १ अर्ब ४४ करोड रहेकोमा सोमबार १ अर्ब ४० करोडबराबरको सेयर किनबेच भएको थियो । मंगलबार कारोबार रकम घटे पनि बुधबार र बिहीबार भने फेरि बढ्न पुग्यो ।

बुधबार १ अर्ब ५१ करोड र बिहीबार १ अर्ब ५५ करोडको सेयर कारोबार भएको छ । सेयर बजारमा आएको उतारचढावका कारण बजार पुँजीकरणमा पनि उतारचढाव देखिएको छ । गत बिहीबार पुँजीकरण ३० खर्ब ४३ अर्ब थियो । यस साताको बिहीबार घटेर ३० खर्ब १४ अर्बमा झरेको छ । पछिल्ला केही दिन बैंकको ब्याजदर तथा वित्तीय विवरणको प्रभावले सेयर बजार निरन्तर घटिरहेको थियो । मंगलबारबाट भने बजार बढ्न सुरू गर्यो । मंगलबार एकैदिन १७.७० अंकले नेप्से परिसूचक बढेको थियो । बुधबार पनि सेयर बजार बढ्नुमा लगानीकर्ताको मनोबल उच्च भएको विश्लेषण विज्ञहरूले गरेका थिए । बुधबार नेप्से परिसूचक २९.४७ अंकले बढेको थियो ।

बुधबारसमेतको वृद्धिलाई लगानीकर्ताको उत्साहका रुपमा बुझ्न सकिने सरोकारवालाहरू बताउँछन् । तर, बिहीबार भने बजार घट्न पुग्यो । बिहीबार कारोबारमा आएको कारोबारमध्ये सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर ९.९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०१.१० रुपैयाँ कायम भएको हो । सेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रो स्थानमा मकर जितुमाया सुरी हाइड्रोपावर रह्यो । यो कम्पनीको सेयर मूल्य ५.९९ प्रतिशत बढेर २६९ रुपैयाँ पुगेको छ । बिहीबार सबैभन्दा बढी मोलुङ हाइड्रोपावर कम्पनीका सेयरधनीले गुमाएका छन् । कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८.५४ प्रतिशत घटेको छ ।

यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६२.७० रुपैयाँमा झरेको छ । सेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा समता घरेलु लघुवित्त वित्तीय संस्था छ । कम्पनीको सेयर मूल्य ८.०९ प्रतिशत घटेर ६२५ रुपैयाँ कायम भएको छ । यस दिन कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी वित्त समूहको परिसूचक २.९२ प्रतिशत घटेको छ । सेयर बजार विश्लेषक हेमन्त बस्याल निजी क्षेत्रले काम गर्न नसकिरहेका कारण पनि बजारमा केही असर परेको बताउँछन् । अर्थात् निजी क्षेत्रमा छाएको सुस्तता सेयर बजारले गति नलिनुको प्रमुख कारणमध्ये एक हो ।

यसबाहेक बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जा बढेका कारण पनि आक्रामक ढंगले ऋण विस्तार गर्न गरेका छैनन् । यसले पनि सेयर बजारमा लगानीकर्ताको मनोबल खस्किएको विश्लेषक बस्यालको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थामा तरलताको अपेक्षाजनक वृद्धि नहुनु, ब्याजदर पनि सोचेजस्तो नघट्नु तथा राजनीतिक अस्थिरतालगायत कारणले अहिले लगानीकर्ताको मनोबल खस्किएको अवस्था छ,’ बस्यालले भने । मुलुकको अर्थतन्त्र सुधारको क्रममा रहेकाले लगानीकर्ता त्रसित भइहाल्नु पर्ने अवस्था भने नरहेको उनी बताउँछन् । अहिले अल्पकालीन लगानीकर्तालाई बजारमा केही गाह्रो परिरहे पनि दीर्घकालका लागि सोचेर लगानी गर्नेहरूलाई राम्रो नै रहेको उनको भनाइ छ ।

 

ताजा समाचार