१२ पुष २०८१, शुक्रबार

वैदेशिक रोजगारीका लागि साउनमा मात्रै ५५ हजार बाहिरिए


आर्थिक वर्ष २०८०\८१ को पहिलो महिना अर्थात साउनमा वैदेशिक रोजगारीका लागि ५५ हजारले देश छाडेका छन् । बैदेशिक रोजगारीका नयाँ र नवीकरण सहित ५५ हजार ५७५ जनाले श्रम स्वीकृती लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यो तथ्यांकलाई हेर्ने हो भने दैनिक १ हजार ७३६ जना बाहिरिएको विभागले जनाएको छ । अघिल्लो साउनको तुलनामा यो संख्या ११ प्रतिशतले कम हो । अघिल्लो वर्षको साउनमा ६३ हजार ३९ जना बाहिरिएका थिए ।

एक महिनाको अवधिमा सबैभन्दा धेरै झापाबाट २ हजार ६६७ जना बाहिरिएका छन् । धनुषाबाट २ हजार ६०३ जना बाहिरिएका छन् । यस्तै मोरङबाट २ हजार २३३ जना, सिराहाबाट २ हजार १८२ जना बाहिरिएको तथ्यांकले देखाएको छ । विभागका अनुसार महोत्तरीबाट र रुपन्देहीबाट क्रमशः १ हजार ९७७ जना, १ हजार ८०९ जनाले श्रम स्वीकृती लिएका छन् ।

यस्तै सुनसरीबाट हजार ८०८ जना, सर्लाहीबाट १ हजार ५०९ जना, सप्तरीबाट १ हजार ४८९ जना, कपिलवस्तुबाट १ हजार १४५ जना, मकवानपुरबाट १ हजार १२३ जना, तनँहुबाट १ हजार ८७ जना रोजगारीका लागि बाहिरिएका छन्। यस्तै दाङबाट १ हजार ७५ जना, रौतहटबाट १ हजार ६३ जना र स्याङ्जाबाट १ हजार ५१ जना विदेशिएका छन् ।

नेपालीको रोजाइ युएई र कतार

वैदेशिक रोजगारीका लागी नेपालीको रोजाईमा युएई र कतार परेको छ । एक महिनामा ५५ हजार ५७५ जनाले श्रम स्वीकृती लिएकामा युएईका लागि मात्र ११ हजार ८७८ जना नेपालीले श्रम स्वीकृती लिएका छन् । यस्तै कतारका लागी १० हजार ५६१ जनाले श्रम स्वीकृती लिएको विभागले जनाएको छ । युएर्ई र कतारमा मात्रै २२ हजार ४३५ जनाले श्रम स्वीकृती लिएका छन् । यो कु्ल श्रम स्वीकृती लिनेको ४० प्रतिशत हो।

यस्तै साउदी अरेबीयाका लागि १० हजार ३० जनाले श्रम स्वृकिती लिएका लिएका छन् । अघिल्लो वर्ष वैदेशिक रोजगारी गर्न जानेको पहिलो स्थानमा रहेको मलेसिया भने यो पटक चौँथो स्थानमा पुगेको छ । मलेसिया भन्दा अन्य देश नै सुविधा सम्पन्न भएकोले युवाहरु अरु देशतर्फ आकर्षित हुन थालेको म्यानपावर कम्पनी सञ्चालक बताउँछन् । साउन महिनामा मलेसियामा ९ हजार २८० जना नेपाली गएका छन् । यस्तै कुवेतमा ३ हजार ७१७ जना नेपाली गएको विभागले जनाएको छ । यस्तै क्रोएसियामा १ हजार ६४९ जना नेपाली गएका छन् भने जापानमा ८२७ जना नेपाली गएका छन् ।

विभागका अनुसार एक महिनाको अवधिमा ५५ हजार ५७५ नेपाली वैदेशिक राजेगारीमा गएका छन् । सीप सिकेर ३८ हजार ७४५ जना गएका छन् भने १२ हजार २४८ जना अदक्ष कामदार बाहिरिएका छन् । सो अवधिमा ४ हजार ४६४ जना अर्धदक्ष कामदार बाहिरिएका छन् । यस्तै विज्ञता हासिल गरेका र उच्च दक्ष कामदार भने न्युन मात्रामा मात्र बाहिरिएको तथ्यांकले देखाएको छ ।

विज्ञता हासिल गरेका र उच्च दक्ष कामदारको संख्या ११८ रहेको विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार हेर्दा नेपालबाट विदेशिने कामदारमध्ये एक तिहाई हाराहारिमा अदक्ष श्रमिक बाहिरिने गरेका देखिन्छ भने सामान्य सीप सिकेका दुई तिहाई हाराहारीमा छ ।

 

ताजा समाचार