२५ पुष २०८१, बिहीबार

मौद्रिक नीतिपछि १०.६२ प्रतिशत घट्यो सेयर बजार, किन निरुत्साहित बने लगानीकर्ता ?


मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक १०.६२ प्रतिशत घटेको छ ।

मौद्रिक नीति सार्वजनिक भएको दिन गत साउन ७ गते बजार बन्द हुँदा नेप्से परिसूचक २.९२ प्रतिशत बढेर २ हजार २२७ .१६ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्टदेखि निरन्तरजसो घटिरहेको बजार गत बुधवार (भदौ १३ गते)सम्म १ हजार ९९०.५९ विन्दुमा झरेको छ ।

किन निरुत्साहित बने लगानीकर्ता ?

मौद्रिक नीतिमा शेयर धितो कर्जामा विद्यमान १५० प्रतिशतको जोखिमभार पुनरवलोकन गरिने भनियो । यस आधारमा लगानीकर्ताले जति रकमको शेयर धितो कर्जा लिए पनि सबैमा जोखिमभार घट्ने अनुमान लगाए । सोही कारण मौद्रिक नीति सार्वजनिक भएको दिन बजार बढेको थियो ।

तर, मौद्रिक नीति जारी गरेपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले एक जना व्यक्तिका लागि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा मात्र १०० प्रतिशत कायम हुने बताए । यही कारण लगानीकर्ता निरास बने । र, बजार घट्न थाल्यो ।

शेयर धितो कर्जामा जोखिमभारको व्यवस्थाप्रति निरास बनेका लगानीकर्तालाई भदौको बैंकको ब्याजदरले फेरि निरास बनायो । भदौको लागि केही वाणिज्य बैंकहरूले ब्याजदर बढाएका छन् । शेयर बजारमा लगानीकर्ता निरुत्साहित हुनुको यो अर्काे कारण रहेको विज्ञहरू बताउँछन् । त्यस्तै, वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जालगायत कारणले पनि बजार घटेको उनीहरूको भनाइ छ ।

यो अवधिमा सबैभन्दा बढी हाइडोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूहको परिसूचक मौद्रिक नीति सार्वजनिक भएपछि १६.३१ प्रतिशत घटेको छ । साउन ७ गते यस समूहको परिसूचक २ हजार ४३४.८७ विन्दुमा रहेकोमा भदौ १३ गते २ हजार ३७.७१ विन्दुमा झरेको छ ।

सर्वाधिक गुमाउने कम्पनीको सूचीमा दोस्रोमा वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १५.१८ प्रतिशत घटेको छ । साउन ७ गते यस समूहको परिसूचक १ हजार ९८९.९३ मा रहेकोमा भदौ १३ गते १ हजार ६८७.८७ विन्दुमा झरेको छ ।

यो अवधिमा १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक भने २६.१४ प्रतिशत वृद्धि भएको छ । साउन ७ गते यस समूहको परिसूचक १४.९६ रहेकोमा भदौ १३ गते बढेर १८.८७ पुगेको छ ।

म्युचुअल फण्डहरूले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्न थालेका छन् । सोही कारण पनि यस समूहको परिसूचक बढेको हो ।

ताजा समाचार