सरकारले आजबाट काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सुर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवाको सञ्चालन गरेको हो ।
बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत सेवा बस सञ्चालनको उद्घाटन गरेका छन् ।
उद्घाटनको दिन मन्त्रीज्वालासहित बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गर्नेछन् ।
यातायात व्यवस्था विभागले बिहीबारदेखि दिनको ४ घण्टा यात्रु (सर्वसाधारण) का लागि द्रुत बस सञ्चालन हुने जनाएको छ । यात्रुहरुका लागि भने असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने जनाईएको छ ।
एम्बुलेन्सको जस्तै सुविधा दिएर सरकारले उक्त रुटमा ३५ देखी ४० सिटे बस द्रुत सेवाको रुपमा सञ्चालन गर्न लागेको हो । पहिलो चरणमा २८ वटा सार्वजनिक बसले उक्त सेवा दिनेछ ।
१९ स्थानमा बिसौनी
बिहीबारदेखि यात्रुका लागि सञ्चालन हुने उक्त बसले विभिन्न १९ स्थानमा यात्रु ओराल्ने तथा चढाउन पाउँनेछन् । विभागका अनुसार द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटीमा बस स्टप राखिएको छ ।
यस्तैगरी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायत स्थानमा यात्रु चढाउने र ओराल्न गरी उक्त रुटमा १९ स्टप राखिएको विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिए ।
उनका अनुसार द्रुत सेवाका बसहरुले अन्य बसहरु जस्तरी यात्रु कुरेर बस्न भने पाउँनेछैनन् ।
द्रुत सेवाका बसहरु बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने छन् ।
कार्यालय आउने कर्मचारीहरुले ट्राफिक जामकै कारण समयमा कार्यालय आउन नसकेको गुनासो गरेपछि सरकारले कर्मचारीलाई लक्षित गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याएकोे हो ।
यसअघि उक्त रुटमा डेढदेखि २ घण्टाको समय लाग्नेगरेकोमा अब ४५ मिनेटमा नै पुगिने विभागको दाबी छ ।
रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने विभागका सूचना अधिकारी पनेरुले जानकारी दिए ।