हिमालयन क्यापिटल र सिभिल क्यापिटल मार्केटले वार्षिक साधारण सभा आह्वान गरेका छन् । हिमालयन बैंकका सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका दुवै मर्चेन्ट बैंकले असोज २६ गते वार्षिक साधारण सभा डाकेका हुन् ।
हिमालयन क्यापिटलको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे रजिष्टर्ड कार्यालय ठमेलमा छैठौं साधारण सभा बोलाएको हो । यस्तै, सिभिल क्यापिटलको सञ्चालक समितिको असोज ४ गतेको बैठकले दिउसो साढे १२ बजे सिटिसी मल सुनधारा काठमाडौंमा १५ औं साधारण सभा बोलाएको हो ।
यसअघि सम्पन्न भएको विशेष साधारण सभाले एकआपसमा मर्ज गर्ने प्रस्ताव पारित गरिसकेका छन् । दुवै क्यापिटलका माउ संस्था (हिलमायन बैंक र सिभिल बैंक) एक आपसमा मर्जर तथा एक्विजिशन भएपश्चात् हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई गाभ्ने भएको हो ।
दुवै क्यापिटललको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन (डीडीए)अनुसार सेयर आदान प्रदान अनुपात १००ः३१ स्वाप रेसियो मर्ज हुने भएका हुन् । अर्थात् सिभिल क्यापिटलको १ सय कित्ता सेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता सेयर पाउने छन् ।
सिभिल क्यापिटललाई गाभेपश्चात् हिमालयन क्यापिटलको नामबाट एकीकृत कारोबार गर्नेछन् ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।