राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ग्लोबल आईएमई बैंकको आफ्नो खातामा पैसा जम्मा नभएको बताएका छन् ।
पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘सञ्चार माध्यमले भनेको जस्तो मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको गलत छ, बैंकको यो पत्रले भनेको छ,’ सभापति लामिछानेले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै भने, ‘यो के भएको रहेछ भने कसैले चेक जम्मा गरिदिनु भयो, काउन्टरमा चेक दिएपछि बैंकले लिएको रसिद दिन्छ, तर पैसा नभएपछि जम्मा पनि हुँदैन, त्यो मान्छेलाई पनि थाहा हुँदैन ।’
सोमबार बिहान मात्रै कान्तिपुर पत्रिकाले सभापति लामिछानेले ग्यालेक्सी टेलिभिजन छाड्दा एक करोड ८० लाख रुपैयाँ डिपोजिट गरेको समाचार सार्वजनिक गरेको थियो ।