४ पुष २०८१, बिहीबार

नायब महानिरीक्षक कुबेर कडायतबाट भुरिगाउँको नवनिर्मित भवनहरू उद्‍घाटन


प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको मंगलबारबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक कडायतले भवन निर्माणको कार्यलाई त्रुटीरहित तवरले सम्पन्न गर्ने ईन्द्रधनु अछाम निर्माण सेवा टिकापुरका प्रतिनिधि बाँधुराम चौधरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालय आवास तथा भौतिक शाखाका प्र.ब.ना.नि. श्याम बहादुर बलायरलाई प्रशंसा-पत्र प्रदान गर्नुका साथै जिल्लाभरी उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक कडायतले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको उल्लेख गर्दै नव-निर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला उर्जा र मनोवलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्‍घाटन कार्यक्रम पश्चात प्रहरी नायब महानिरीक्षक कडायतले बर्दिया जिल्लामा रहेका प्रहरी कार्यालयका कार्यालय प्रमुख, तथा अन्य प्रहरी अधिकृत तथा जवानहरुलाई शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा आफ्नो व्यवसायिकता प्रदर्शन गर्ने, प्रमाणमुखी अनुसन्धान गर्ने, प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउनुपर्ने लगायत विषयमा निर्देशन समेत दिनुभयो।

 

ताजा समाचार