इरानले आफ्नो भूमिबाट इजरेलमाथि पहिलो पटक सोझै आक्रमण गरेपछि इजरेलले त्यसको जबाफ दिन सक्ने र लडाइँ चर्किन सक्ने अनुमान गरिएको छ।
एक इजरेली मन्त्रीले यथोचित समयमा इरानसँग यो आक्रमणको “मूल्य चुक्ता” गराउने बताएका छन्। इरानले इजरेलबाट प्रत्याक्रमण भए आफूले “अझ ठूलो” कदम चाल्ने चेतावनी दिएको छ।
इरानी सेनाका प्रमुख मेजर जेनरल मोहम्मद बघेरीले इरानको सरकारी टेलिभिजनमा बोल्दै इरानले प्रतिक्रिया जनाएको खण्डमा शनिवार रातिको भन्दा ठूलो कारबाही गर्ने चेतावनी दिएको समाचारसंस्था रोयटर्सले जनाएको छ।
इरानले वाशिङ्टनलाई पनि चेतावनी दिँदै इजरेली प्रतिक्रियामा साथ दिएमा अमेरिकी सैन्य आधारहरूलाई निसाना बनाउने बताएको छ।
इरानी आक्रमणपछि संयुक्त राज्य अमेरिकाले इजरेललाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यद्यपि यो घटना चर्किएर युद्ध हुनुपर्छ भन्ने पक्षमा राष्ट्रपति जो बाइडन नरहेको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले बताएका छन्।
यदि इजरेलले इरानमाथि सैन्य कारबाही गर्यो भने अमेरिका त्यसमा संलग्न नहुने जानकारी बाइडनले इजरेललाई गराइसकेको विवरण सीएनएनले प्रकाशित गरेको छ।
तस्बिरको क्याप्शन,इजरेली र अमेरिकी लडाकु विमान र क्षेप्यास्त्र प्रतिरोधी प्रणालीले तीनसयभन्दा बढी प्रहारमध्ये ९९ प्रतिशतलाई आकाशमै नष्ट गरिदिएको थियो
यसअघि संयुक्त राष्ट्रसङ्घस्थित इरानी प्रतिनिधिमण्डलले राष्ट्रसङ्घीय बडापत्रको आत्मरक्षासम्बन्धी धारा ५१ मा उल्लिखित प्रावधानलाई उद्धृत इजरेलमा शृङ्खलाबद्ध हमला गरेपछि “यो विषय…टुङ्गिएको” जनाएको थियो।
इरानले इजरेललाई फेरि “अर्को गल्ती” नगर्न चेतावनी दिएको छ।
इरानले किन गर्यो आक्रमण
एप्रिल १ मा सिरियास्थित एउटा इरानी कूटनीतिक नियोगमा एउटा घातक हवाई आक्रमण भएको थियो। त्यसमा एक सैन्य कमान्डरसहित केही इरानी अधिकारीको मृत्यु भएको थियो।
इरानले उक्त आक्रमण इजरेलले गराएको आरोप लगाएको थियो र त्यसको प्रतिशोध लिने उद्घोष गरेको थियो। इजरेलले उक्त घटनामा आफू संलग्न भए नभएको केही पनि बताएको थिएन।
सिरियाको रक्षा मन्त्रालयका अनुसार इजरेली विमानले दमास्कसस्थित इरानी नियोगमा अधीनस्थ गोलन हाइटतर्फबाट हमला गरेको थियो। उसका अनुसार सिरियाली हवाई प्रतिरक्षा प्रणालीले इजरेलले प्रहार गरेका केही क्षेप्यास्त्रलाई नष्ट गरिदएको भए पनि केही अरूले “पूरा भवनलाई ध्वस्त पारेको र त्यहाँ भएका मानिसहरू हताहत भए” थिए।
सिरियाका विदेशमन्त्री फैसल मेक्दादले उक्त घटनालाई “घृणित आतङ्कवादी हमला” भन्दै त्यसको कडा शब्दमा निन्दा गरेका थिए। उनले उक्त घटनामा “कैयौँ निर्दोस मानिसहरू” मारिएको बताएका थिए। बीबीसी