४ पुष २०८१, बिहीबार

विश्वको अर्थतन्त्र २० वर्ष यताकै कमजोर, गरीबी र भोकमरी बढ्न सक्ने – आइएमएफ


अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वको अर्थतन्त्र वृद्धि सन् १९९० यताकै कमजोर स्थितिमा रहेको बताएको छ । आगामी पाँच वर्षसम्म विश्व अर्थतन्त्र वार्षिक ३ प्रतिशत हाराहारी मात्र हुने आईएमएफको प्रक्षेपण छ । आईएमएफकी प्रमुख क्रिष्टिलिना जोर्जिभाले भनेकी छिन्, ‘विश्व अर्थतन्त्रको आगामी बाटो कठिन र धुमिल छ ।’

यो परिस्थिति हटाउनका लागि विश्व शक्तिबीचको सहकार्य आवश्यक पर्नेमा सहकार्यको परिस्थिति झन् जटिल बन्दै गएको जोर्जिभाको भनाइ छ । आईएमएफको वार्षिक बैठकका लागि वासिङ्टन पुगेकी उनले आर्थिक स्थिति कमजोर भएका मुलुकहरूलाई शक्ति राष्ट्रले सहयोग गर्नुपर्ने बताइन्।

कोरोना महामारीपछि अर्थतन्त्रलाई सुधार गर्न र युक्रेन युद्धपछिको स्थितिलाई लयमा फर्काउन लागि आईएमएफले ऋणको पुनर्संरचना आवश्यक रहेको बताएको छ । यसका लागि शक्ति राष्ट्रहरूले सहयोग बढाउनुपर्ने कोषको भनाइ छ ।

गत वर्ष विश्व अर्थतन्त्रको वृद्धि प्रतिशत ३ दशमलव ४ प्रतिशत थियो । यो दुई दशकयताकै न्यून हो । सन् २०२३ मा चीन र भारतको अर्थतन्त्रमा वृद्धि हुने हुँदा त्यसले कुल वृद्धिको आधा प्रतिशत ओगट्ने आईएमएफको भनाइ छ । सन् २०२३ मा विश्व आर्थिक वृद्धि ३ प्रतिशत पुग्दा ९० प्रतिशत उन्नत अर्थतन्त्रमा गिरावट आउने आईएमएफको भनाइ छ। केन्द्रीय बैंकहरूले ब्याजदर बढाउँदा यो स्थिति आएको उसको जिकिर छ ।

कम आय भएका मुलुकहरूको निर्यात झन् कमजोर हुँदा उनीहरू थप समस्या पर्ने आईएमएफले बताएको छ । ‘कम आय भएका मुलुकहरूमा थप संकट आउन सक्छ । गरिबी र भोकमरी बढ्नसक्ने भएकाले यसतर्फ सचेत हुनुपर्छ’, जोर्जिभाले भनेकी छिन्।

ताजा समाचार