सरकारले रिक्त सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक बसेको मंगलबारको मिति राखेर मुख्यसचिव डा. वैकुण्ठ अर्यालले शुक्रबार निर्णयमा हस्ताक्षर गरेका हुन् । परराष्ट्रका ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ ।
उच्च सरकारी स्रोतका अनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापाको नाम सिफारिस भएको छ । हाल उत्तरपूर्वी एसिया महाशाखा प्रमुख रहेका थापासँग राष्ट्रसंघीय मामिलामा काम गरेको अनुभव भने छैन । उनी यसअघि बेल्जियमका लागि नेपाली राजदूत थिए ।
राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी सिफारिसमा परेका छन् । दिल्लीस्थित नेपाली दूतावासको उपनियोगका रूपमा काम गरेर फर्केका सुवेदी हाल परराष्ट्रमा दक्षिण एसिया महाशाखा प्रमुख छन् ।
हाल प्रमुख शिष्टाचार महापाल रहेका सहसचिव सुधीर भट्टराई फ्रान्सका लागि राजदूतमा सिफारिस भएका छन् । सहसचिव धनबहादुर ओली थाइल्यान्ड, तेजबहादुर क्षेत्री युएई र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।
सरकारले क्यानडाका लागि राजदूतमा भने सिफारिस गरेन । कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुंगाना स्वदेश फर्किसकेका छन् ।
हालै न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, युएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएका छन् ।