काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार ४७.०७ अंकले बढ्दै सेयर बजार २१४४.१६ को बिन्दुमा उक्लिएको छ ।
बढेको बजारमा कारोबार रकम पनि बढ्यो । सोमबार ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ५६ करोड एक लाख ९१ हजार २८८ रुपैयाँ भयो ।
नेप्सेका सबै सूचकहरुमा उत्साह देखिँदा सामूहिक लगानीमा भने केही गिरावट आयो । सोमबार सबैभन्दा बढी जीवन बिमा र निर्जीवन बीमा क्षेत्रका लगानीकर्ताले फाइदा उठाए । जीवन बीमा उपसमूहमा २८२.८६ अंकको बृद्धि भयो भने निर्जीवन बीमा उपसमूहमा २६२.११ अंकको बृद्धि भयो ।
सोमबार कारोबारमा आएका २१७ कम्पनीमध्ये २०० कम्पनीको मूल्य बढ्यो भने १३ कम्पनीको मूल्यमा केही गिरावट देखियो । चार कम्पनीका मूल्य भने स्थिर रहे ।
यसअघि जस्तै सोमबार पनि कारोबार रकमका आधारमा सिवम् सिमेन्ट र हिमालयन लाइफ अग्रस्थानमा रहे ।
एकातिर बैंकहरुले ब्याजदर घटाएका छन् भने सेयर बजारलाई सहज बनाउने गरी केन्द्रीय बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । जसको प्रभाव सेयर बजारमा परेको अनुमान गरिएको छ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन बजारमा देखिएको उत्साहले आगामी दिनहरुमा पनि बजारमा उत्साह छाइरहने अनुमान गर्न सकिन्छ ।