राष्ट्रिय स्तरका विकास बैंकले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार आठओटा विकास बैंकको नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा ८ दशमलव ९८ प्रतिशत घटेको छ ।
अघिल्लो आवमा यी बैंकहरूले रू. ६ अर्ब ३४ करोड नाफा कमाएकोमा चालू आवमा रू. ५ अर्ब ७७ करोड मात्रै नाफा आर्जन गरेका छन् । गत आवमा बैंकहरूको खराब कर्जा बढेकाले नाफा प्रभावित भएको हो ।
गत आवमा आठ बैंकमध्ये तीन ओटाको नाफा बढेको छ भने बाँकी सबै बैंकको नाफा घटेको हो । गत आवमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा बढेको छ, जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको छ । बैंकले रू. १ अर्ब ३६ करोडभन्दा बढी नाफा हासिल गरेको छ । सर्वाधिक नाफा आर्जन गर्ने सूचीमा दोस्रोमा गरिमा विकास बैंक छ । बैंकले रू. १ अर्ब २१ करोड नाफा कमाएको छ ।
त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले भने रू. ३४ करोड ३७ लाख मात्रै नाफा कमाएको छ । यो रकम अघिल्लो आवभन्दा ३४ प्रतिशत कम हो । कम्पनीले अघिल्लो आवमा रू. ५२ करोड ७१ लाख नाफा कमाएको थियो ।
त्यस्तै सबैभन्दा बढी लाभांश क्षमता लुम्बिनी विकास बैंकको ११ दशमलव ६१ प्रतिशत छ । सबैभन्दा कम लाभांश क्षमता भने कामना सेवा विकास बैंकको छ । बैंकको लाभांश क्षमता १ दशमलव ७७ प्रतिशत छ ।