रसुवागढी नाकाहुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्र सम्बन्धी कार्यविधि कार्यान्वयन गर्न अध्यागमन विभागले रसुवागढी नाकाको टिमुरे स्थित अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्राचार गरेकोछ ।
रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी कार्यविधि २०७६ भदौ २५ गते मन्त्रीस्तरबाट स्वीकृत भएको थियो । तर, अहिलेसम्म पनि ट्रक चालक तथा सहचालकहरुले प्रवेश पत्र नपाएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै आइरहेको थियो ।
महासंघ र संगठनका प्रतिनिधिहरुले असारयता लगातार अध्यागमन विभागका महानिर्देश झलकराम अधिकारीसंग भेटेर समस्या सुल्झाउन आग्रह गरेका थिए ।
विभागले नेपाल स्थित चीनको राजदुतावासका सेकेण्ड सेक्रेटरीसंग छलफल गरेर चीनको कस्टम अथोरिटिसम्म विषयको ध्यानाकर्षण गराएको थियो ।
चीनयस विषयमा सकारात्मक देखिएपछि नाकामा पत्राचार गरिएको महानिर्देश अधिकारीले जानकारी गराए ।
अध्यागमन शाखाले जारी गरेको कार्याविधि २०७६ मा चार प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरेको छ । उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमति पत्र, कामदार प्रवेश अनुमति पत्र, व्यवसायी प्रवेश अनुमति पत्र, एकदिने प्रवेश अनुमति पत्रको व्यवस्था भएतापनि अहिलेसम्म चालक, सहचालक तथा व्यवसायीहरुले चीन प्रवेश अनुमति पत्र पाएका छैनन् ।
कार्यविधि कार्यान्वयन नहुँदा ९६६ वटा ट्रक कन्टेनरका चालकहरुले काठमाण्डौंबाट १३२ किलोमिटर दुरीमा रहेको रसुवागढीको टिमुरेसम्म सवारीसाधन पुर्याएर चीन प्रवेश अनुमति पत्र भएका रसुवा जिल्लावासी चालक खोजेर २४ किलोमिटर दुरीमा रहेको केरुङ लानका लागि १५ हजार तिर्नुपर्ने अवस्था रहेको छ ।
चालकहरुलाई पासको व्यवस्था गर्न आग्रह गर्दै लकडाउन अघि र लकडाउनपछि संगठन तथा महासंघ र लिमिटेडको तर्फबाट रसुवा अध्यागमन कार्यालय, रसुवा भन्सार कार्यालय, रसुवा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय रसुवा र गोसाँइकुण्ड गाउँपालिकालाई ध्यानकर्षण गराएको थियो ।
अध्यागमन विभागबाट निस्कदैँ मजदुरनेता भीमज्वाला राईले बल्ल अलिकती भएपनि खुशी मिलेको बताए । राईले भने करिव ५ वर्षदेखिको मेहनतले बल्ल सार्थकता पाउँदै गरेको बताए ।