८ पुष २०८१, सोमबार

हरेक वर्ष नयाँ भर्ना गर्नुपर्ने व्यवस्था खारेज गर्न माग


बर्षौ देखि निरन्तर पढेका आफ्ना विद्यार्थीलाई हरेक बर्ष भर्ना गर्दै शुल्क उठाउने निजी विद्यालयको शैली प्रति संसदमा प्रश्न उठेको छ ।

हरेक बर्ष भर्ना गर्नु पर्ने त्यस्तो व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गर्न सत्ताधारी दल नेकपा माओवादी केन्द्की सांसद उर्मिला माझिले माग गरेकी छन् । बुधबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै उनले हरेक बर्ष पाठ्यपुस्तक फेर्ने र अभिभावकलाई आर्थिक बोझ पार्ने निजी विद्यालयको शैली प्रति पनि विरोध जनाएकी छन् । महँगो र असमान शिक्षाका कारण समाजमा गरिवि बढेको उनको तर्क छ ।

‘निजी विद्यालयमा प्रत्येक बर्ष भर्ना गर्नु पर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गरियोस्’ उनले भनिन् ‘बर्षै पिच्छे नयाँ नयाँ किताव फेर्ने र कोर्स फेर्ने चलनको अन्त्य गरी न्यूनतम ३ बर्ष सम्म किताब फेर्न नपाउने व्यवस्था गरियोस् ।’

नेपालको ईतिहासमै पहिलो पटक दूर दराजमा पाठ्यपुस्तक पुर्याउन सकेकोमा सरकारलाई धन्यवाद दिदैं उनले यसले समग्र शैक्षिक प्रणालीमा सकारात्मक प्रभाव ल्याउने उल्लेख गरिन् ।

बैठकमा सांसद सञ्जय गौतमले उच्च शिक्षा सुधारमा सरकारको ध्यान नगएको प्रति गुनासो गरेका छन् । २०७५ सालमा ७० हजारले स्नातक पास गरेकोमा ०७७ ०७८ मा ३० हजारमा पुगेको भन्दै उनले अहिले १ लाख २४ हजारले एनओसी लिएको स्मरण पनि गराए । यसले अरबौं रुपैंया सँगै भविष्य र सम्भावना पनि विदेश गएको उनको भनाई छ ।

‘युवा पंक्ति रोक्न कारण र निदान खोज्नु पर्यो’ उनले भने ‘विद्यार्थीको आर्कषण विदेशी विश्ववद्यालयमा किन बढिरहेको छ ?’

 

ताजा समाचार