७ पुष २०८१, आईतवार

भारतले रच्यो इतिहास, चन्द्रमाको दक्षिणी ध्रुवमा यान उतार्ने पहिलो देश


भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ । इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो।

जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो । चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन् । ल्यान्डरको नाम विक्रम राखिएको छ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो । विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ।  प्रज्ञानको तौल २६ किलो छ।

सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद भएको थियो ।

इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले २०१९ मा अवतरणका क्रममा भएका प्राविधिक गल्तीलाई यसपालि सच्याइएको बताएका छन् ।

यसअघि अमेरिका, चीन र तत्कालीन सोभियत संघले चन्द्रमामा यान पठाएका थिए। तर उनीहरू सबैले चन्द्रमाको भूमध्यरेखा आसपासमा यान  पठाएका थिए अमेरिकाले पटक-पटक अन्तरिक्षयात्री पठाएको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो मुलुक हो । प्रज्ञान रोभरले अब चन्द्रमाको दक्षिणी ध्रुवको सतहको अध्ययन गर्ने छ ।

 

ताजा समाचार