१० पुष २०८१, बुधबार

कित्ताकाटमा सहज बनेपछि ऋणमा सहजीकरणका लागि घरजग्गा व्यवसायीले बैंकरसँग थाले छलफल


घरजग्गा व्यवसायीहरुको संस्था नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल बैंकर्स संघबीच बुधबार भेटवार्ता भएको छ ।

महासंघका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको टोलीले नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीसहितका पदाधिकारीसँग बुधबार छलफल गरेको हो ।

सरकारले प्लानिङ पर्मिट लिएका आयोजनाहरूलाई कित्ताकाटमा सहजीकरण गर्ने निणर्य लिएपछि व्यवसायीहरुले बैंकरहरुलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन् । छलफलमा व्यवसायीले ऋणमा सहजीकरण गर्दै ब्याज घटाइदिन आग्रह गरेका छन् । उनीहरूले उपभोक्तालाई प्रोत्साहित गर्न घरजग्गा ऋणको स्किम ल्याउन पनि सुझाएका छन् ।

छलफलमा व्यवसायीहरूले लोन टु भ्यालु रेसियो (घरजग्गा धितो राखेर पाइने ऋणको अनुपात) लाई बढाउन आग्रह गरेका छन् । साथै बैंकहरुले आफूखसी घरजग्गाको फेयर मार्केट भ्यालु (सरकारी मूल्यांकन र चलनचल्तीको दरलाई आधार मानेर निकालिने रकम) तय गर्न भिन्न-भिन्न सूत्र (फर्मुला) लगाउने परिपाटीलाई अन्त्य गर्दै एकरुपता कायम गर्न व्यवसायीहरूले सुझाव दिएका छन् ।

घरजग्गा व्यवसायीहरुले लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्‍याउन बैंकरहरुसँग भनेका छन् । लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्‍याउन घरजग्गा व्यवसायी र बैंकरहरूबीच साझा धारणा बनाएर राष्ट्र बैंकसँग आवश्यक छलफल गर्ने समझदारी समेत बनेको छ ।

बैंकहरूले घरजग्गाको फेयर मार्केट भ्यालु निकाल्न विभिन्न सूत्र बनाउने गरेका छन् । त्यसलाई एकरुपता दिनसमेत घरजग्गा व्यवसायीहरुले आग्रह गरेका हुन् ।

बैंकहरुको आधार दर घटेको समयमा प्रिमियम कम लिएको भए पनि अहिले आधार दर बढेको अवस्थामा प्रिमियम बढाएर लिने गरिएको भन्दै घरजग्गा व्यवसायीहरूले बैंकरहरूसँग गुनासो गरेका छन् ।

व्यवसायीहरुले अहिलेको परिस्थिति हेरेर बैंकहरूले आधार दरमा धेरै मार्जिन राख्न नहुने आशय राखेका थिए । व्यवसायीहरुले बैंकहरुबीच अहिलेको प्रतिकूल अवस्थामा समेत निक्षेपमा बढी ब्याज दिने प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् ।

छलफलमा बैंकरहरुले फेयर मार्केट भ्यालु पहिल्याउन एउटै सूत्रमा ल्याउन आफूहरू आन्तरिक छलफल गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ताजा समाचार