२६ पुष २०८१, शुक्रबार

रेमिट्यान्स आप्रवाहमा ५ वर्षमा ६२ प्रतिशतको वृद्धि


बितेका ५ वर्षमा रेमिट्यान्स आप्रवाह करिब ६२ प्रतिशतले बढेको छ । देशमा रोजगारीका अवसर नहुँदा बिदेसिने युवाको संख्यामा भएको उच्च वृद्धिसँगै रेमिट्यान्स आप्रवाह पनि बढेर गएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रेमिट्यान्स भित्रिएकोमा गत आर्थिक वर्षमा १२ खर्ब २० अर्ब नाघेको हो । यो वृद्धि ६१.५९ प्रतिशत हो । गत आर्थिक वर्षमा मासिक १ खर्बभन्दा बढीका दरले रेमिट्यान्स भित्रिएको छ ।

आव २०७५/७६ मा ८ खर्ब ७९ अर्ब, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब, २०७७/७८ मा ९ खर्ब ६१ अर्ब र २०७८/७९ मा १० खर्ब ७ अर्ब रेमिट्यान्स आएको थियो ।

आव २०७४/७५ मा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ८.६ प्रतिशतले बढेको थियो । त्यस्तै आव २०७५/७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स २०७६/७७ मा भने ०.५ प्रतिशतले घटेको थियो ।

कोभिड-१९ महामारीका कारण ७६/७७ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या पनि २०.५ प्रतिशतले घटेको थियो । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ३४.७ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

आव २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले, २०७८/७९ मा ४.८ प्रतिशत र २०७९/८० मा २१.२ प्रतिशतले बढेको छ ।

 

ताजा समाचार