९ पुष २०८१, मंगलवार

बालेनविरुद्ध विद्रोहमा उभिएका ई:को स्वास्थ्यमा गम्भीर समस्या


काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई:को स्वास्थ्यमा गम्भीर समस्या देखापरेको छ ।

गत मंगलवारदेखि राष्ट्रिय सभागृहको गेटमा छ दिन लगातार उभिँदा ईःका खुट्टा सुन्निएर डम्डम्ती भएका छन् । उनलाई अब बस्नसमेत गाह्रो हुने गरी कम्मर कटकटी खान थालेको छ। रक्तसञ्चारमा गडबडी भएपछि पैतालाहरू सहनै नसक्ने गरी झमझमाउन थालेका छन् ।

सोमवार (आज) आर्थिक वेभको टीम उनले गरिरहेको आन्दोलनस्थल पुग्दा उनका खुट्टा निकै नै सुनिएका जस्ता देखिन्थे ।

तर उनले आफू स्वस्थ नै रहेको जिकिर गरिरहे । ‘यो केही पनि होइन, लगातार उभिदा यस्तो समस्या आइहाल्छ, सामान्य हो,’ उनले भने ।

उनले लौरोसमेत टेकीरहेका थिए भने स्वस्थ व्यक्तिजस्तै सक्रियताका साथ कुराकानी पनि गरिरहेका थिए ।

उनको आन्दोलनमा फुटपाथ व्यापारी तथा महानगरको ज्यादतीबाट उठिबास लागेकाको मात्र होइन, बुद्धिजीवी, पेसाकर्मीहरूको पनि समर्थन थपिँदै गएको छ ।

सोमवार उनको साथमा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा पनि सँगै उभिएकी थिइन् ।

फूटपाथ व्यापारीमाथि काठमाडौँ महानगरपालिका र विशेष गरी मेयर बालेन शाह आक्रामक भएपछि ई: ले आन्दोलनको यस्तो बाटो रोज्नुपरेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह भने ई: को आवाज सुन्न तयार छैनन् । सोमवार दिउसो करीब १२ बजेतिर बालेनले एक महानगरीय प्रहरी पठाएर ई: लाई वार्तामा आउन भनेका थिए ।

तर वार्ताको तयारीका लागि आधा घण्टा लाग्ने जनाएपछि ती प्रहरीले त्यति समय बालेनसँग नभएको भन्दै निरङ्कुश शैलीमा जवाफ दिएको ई: र उनलाई साथ दिइरहेकाहरूले बताए ।

बालेनले भने ई: उभिरहेको ठाउँमा आफैं पुगेको दाबी गरेका छन् । उनले आफ्नो फेसबुक स्ट्याटसमा भनेका छन्, ‘विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर बार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौंभन्दा अभियनताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन,’ उनले भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने ?’

 

ताजा समाचार