४ पुष २०८१, बिहीबार

कैलाश सिरोहिया पक्राउको विरोध जनाउँदै काँग्रेसले सडक तताउने


काठमाडौँ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको नेपाली काँग्रेसले सडक आन्दोलन गर्ने भएको छ ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले जेठ १३ गते अपराह्न २ बजे भृकुटीमण्डपमा बृहत प्रदर्शन गर्ने निर्णय गरेको हो ।

डा. प्रकाशशरण महतका अनुसार सरकारले संसदीय प्रक्रियालाई मिचेर गलत ढंगले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको बिरोध र प्रेस स्वतन्त्रताको पक्षमा जानका लागि आन्दोलन गर्नुपरेको हो ।

आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेको चर्को आलोचना भएको छ । पार्टी मुख्यालय सानेपामा बसेको संयुक्त बैठकमा नेताहरुले गृहमन्त्री लामिछाने र सभामुख घिमिरेविरुद्ध खनिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम आएको बताउँदै संसदीय छानबिनको अडान कायमै रहेको बताए ।

त्यस्तै, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोध जनाउँदै प्रदर्शन गर्ने बैठकले निर्णय गरेको बताए ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि कांग्रेसका महामन्त्री गगन थापा एकदमै आक्रोशित भएका थिए । उनले राज्यले दमन गरेकोसमेत भन्न भ्याएका थिए ।

प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ।

म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन – हेक्का रहोस्।  उनले लेखेका थिए ।

 

 

ताजा समाचार