पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि तिब्र पारेकाले उनले आत्मसमर्पण गरेका हुन् ।
शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् ।
सोही कारण शेर्पालाई प्रहरीले खोजी रहेको थियो । शनिबार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापासमेत मारेको थियो ।
पूर्व सांसद शेर्पाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालिमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका थिए । भेटमा शेर्पाले आरोपीहरुलाई बयान गर्दा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको दाबी छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले आरोपीहरुसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएका थिए ।