११ पुष २०८१, बिहीबार

आर्थिक मन्दीको प्रभाव : आउन छाड्यो वैदेशिक लगानीको प्रस्ताव


काठमाडौं । गत आर्थिक वर्ष (आव)मा नेपालको औद्योगिक क्षेत्रमा विगतको तुलनामा लगानी प्रस्ताव घट्न पुगेको छ । आव २०७८/७९ को तुलनामा गत आवमा पौने एक खर्ब कम लगानी प्रस्ताव आएको तथ्यांकले देखाएको छ । उद्योग विभागको तथ्यांकअनुसार गत आवमा अघिल्लो आवको तुलनामा १ खर्ब २९ अर्ब कम लगानी प्रस्ताव आएको हो ।

आव ०७९/८० मा ३२२ वटा उद्योगमा दुई खर्ब १४ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । ती उद्योगहरुले २३ हजार तीन सय २४ जनालाई रोजगारी प्रदान गर्ने जनाएका थिए । गत आर्थिक वर्षमा विगतको तुलनामा ठूला उद्योगमा कम लगानी प्र्रस्ताव आएको तथ्यांकले देखाएको छ । गत वर्ष ठूला ६६ वटा उद्योगले लगानी प्रतिबद्धता जनाएका छन् । त्यस्तै, ७० वटा मध्यम र १८६ वटा साना उद्योग दर्ता भएका छन् ।

गत आवमा ५ वटा प्यारेन्ट, १८ वटा डिजाइन उद्योग र ३ हजार दुई सय ५४ ट्रेडमार्क दर्ता भएका छन् । त्यस्तै, विभागका अनुसार गत आवमा ४०४ वटा निर्यात नगद अनुदानका लागि उद्यागहरुको भ्यालु एडिसन प्रमाणित भएको र भारतमा निर्यातका लागि ९८ वटा उद्योगले सिफारिस लिएका छन् ।

आव २०७८/७९ मा भने स्वदेशी तथा विदेशीले गरी ३ खर्ब ४३ अर्ब लगानी प्रस्ताव गरेका थिए । सो आवमा ३०९ वटा उद्योग दर्ता भएका थिए । गत वर्ष ३२२ वटा उद्योग दर्ता भएका थिए । संख्यात्मक रुपमा झिनो अंकले गत आवमा उद्योग संख्या बढी देखिए पनि लगानी रकमका हिसाबले एक खर्ब भन्दा बढीले कमि देखिएको हो ।

त्यस्तै, गत आवमा उद्योगको क्षेत्रमा वैदेशिक लगानी प्रस्तावमा पनि २९ प्रतिशतले कमि आएको देखिएको छ । पुँजी लगानीमा पनि अघिल्लो आवको तुलनामा कमि आएको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष नेपालमा विभिन्न देशबाट ५४ अर्ब १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । तर, गत आवमा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ मात्रै लगानी प्रतिबद्धता आएको छ । प्रस्तावित विदेशी लगानीबाट सञ्चालन हुने उद्योगहरुले १७ हजार १२ जनाले रोजगारी प्राप्त गर्न सक्ने जनाइएको छ । पाउने विभागको तथ्यांकमा उल्लेख छ ।

ताजा समाचार