काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दो छ । सरकारी तथ्यांकलाई हेर्दा पनि क्रमशः विद्युतीय सवारी साधन आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा अहिलेसम्मकै धेरै विद्युतीय सवारी भित्रिएका छन् । भन्सार तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा ४ हजार ५० वटा विद्युतीय सवारी भित्रिएका छन् ।
तथ्यांक अनुसार, एक वर्षमा ११ अर्ब ८४ करोड ८५ लाख ५ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएका थिए । उक्त विद्युतीय सवारी साधन आयातबाट सरकारले तीन अर्ब ३० करोड ८४ लाख ८७ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
विभागको तथ्यांकअनुसार, असार महिनामा मात्रै एक सय वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएको छ । विभागले सार्वजनिक गरेको असार महिनासम्मको तथ्यांकअनुसार विद्युतीय सवारी साधन आयात बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा नेपालमा १ सय ७ वटा विद्युतीय सवारी साधन भित्रिएका थिए ।
सरकारले जेठ १५ गते चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु अगाडि छोटो समयमा ठूलो मात्रामा विद्युतीय सवारी साधन भित्रिएको थियो । गत जेठ महिनासम्म विभिन्न भन्सार नाका हुँदै तीन हजार आठ सय ७० सवारी साधन नेपाल आएको थियो । त्यसबेला ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँको गाडी बढी आयात भएको भन्सार विभागको तथ्यांक छ । जसबाट तीन अर्ब ५१ लाख १८ हजारभन्दा बढी रुपैयाँ राजस्व संकलन भएको थियो ।
विभागको तथ्यांकअनुसार असार महिनामा सबैभन्दा धेरै विद्युतीय गाडीहरू भारतबाट भित्रिएका छन् । भारतबाट ५० किलोवाटका दुई हजार एक सय ८६ वटा गाडी र १०० वाटका ९१ वटा गाडी नेपाल भित्रिएका हुन् । भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरू चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट असारमा १०० किलोवाट क्षमताका १२ सय २१ वटा र ५१ देखि १०० किलोवाटसम्मका १४३ वटा गाडी आयात भएका छन् । भारत र चीन बाहेक दक्षिण कोरिया, इन्डोनोसिया, बेलायतबाट लगायतका मुलुकहरुबाट पनि विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।
नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाटभन्दा माथि क्षमताका सवारी साधन आयात हुँदै आइरहेका छन् । यसमध्ये ५० किलोवाटदेखि १०० किलोवाटसम्मका सवारी साधन सबैभन्दा धेरै आउने गरेका छन् । यसपछि १०० देखि २०० किलोवाट क्षमताका सवारी धेरै आउने गरेका छन् । २०० किलोवाटदेखि माथिका विद्युतीय सवारी भने न्यून संख्यामा आयात हुने गरेको तथ्यांकले देखाएको छ ।
केही वर्षदेखि सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिँदै आएको छ । नेपाल विद्युत् प्राधिकरण र कतिपय ठाउँमा निजी क्षेत्रले पनि चार्जिङ विद्युतीय सवारी साधनलाई मध्यनजर गरेर चार्जिङ स्टेसन निर्माणको प्रकृयालाई अगाडि बढाइरहेका छन् । प्राधिकरणले बनाउने चार्जिङ स्टेसनमा जग्गा अधिग्रहण लगायतका समस्या आएपछि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ ।
हालसम्म करिब एक दर्जन वटा कम्पनीले विद्युतीय सवारी आयात तथा बिक्री गर्दै आएका छन् । जसमध्ये बीवाईडी, टाटा, हुन्डाई, किया, महिन्द्रा, सुजुकी, नेटाभी, रेनल्ट, एमजी र टेस्लाका विद्युतीय सवारी साधन नेपालमा आउने गरेका छन् । आउँछन् । यसमध्ये टाटाको हिस्सा सबैभन्दा धेरै रहेको तथ्यांकले देखाएको छ ।