काठमाडौं – चन्द्रागिरि हिल्स लिमिटेडले १४औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । साउन १४ गते कम्पनीको व्यवस्थापक समुहले आयोजना गरेको कम्पनीको १४औं वार्षिकोत्सव समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको आतिथ्यतामा एक दिने कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त वार्षिकोत्सव समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई कम्पनीका अध्यक्षको हातबाट प्रमाणपत्र तथा ट्रफी वितरण गरी हौसला प्रदान गरिएको थियो ।
त्यसैगरी सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबै भन्दा राम्रो उत्कृष्ट कार्य गरी उदाहरणीय बन्न सफल भएका चारजना कर्मचारीहरुलाई अध्यक्षको तर्फबाट प्रमाणपत्र, चाँदीको लकेट ,एक रातको लागि परिवार सहित निशुल्क रिसोर्ट बस्ने भौचर कुपन समेत प्रदान गरी कर्मचारीहरुलाई थप हौसला प्रदान गरिएको थियो ।
यस कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सफल भएका दुई जना कर्मचारीहरुलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई अध्यक्षबाट सम्मान गरिएको थियो । अध्यक्षको अध्यक्षता एवं कम्पनी सचिव झलकराज शर्माबाट कार्यक्रमको संचालन गरिएको यस कार्यक्रममा कम्पनीका महाप्रवन्धकबाट स्वागत मन्तव्य दिनुका साथै संचालक समितिका सदस्यहरुले शुभकामना मन्तव्य दिएका थिए ।