सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रकम जम्मा गर्ने श्रमिकको ऋण र सापटीमा दिने व्याजदर परिमार्जन गरेको छ ।
सामाजिक सुरक्षा कोषबाट ऋण तथा सापटी लिने योगदानकर्ता श्रमिक तथा कर्मचारीको संख्या बढेसँगै कोषले व्याजदर परिमार्जन गरेको हो ।
कोषले ४ वटा योजना अन्तर्गत ऋण तथा सापटी दिने गरेपनि २ वटाको व्याजदर घटाएको छ । कोष सञ्चालक समितिको असार २५ को निणर्यबाट आर्थिक वर्ष २०८०/८१ को लागि साउनबाट लागू हुनेगरी नयाँ ब्याजदर निर्धारण गरिएको हो ।
कोषका सहप्रवक्ता रोहित रेग्मीले वर्षे नी ऋण, सापटी तथा जम्मा भएको रकमको व्याजदर परिमार्जन गरिने अभ्यास अन्र्तगत यो वर्षका नयाँ व्याजदर कायम गरिएको बताए ।
योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा प्रदान गर्ने व्याजदर वार्षिक ७.५ प्रतिशत कायम भएको छ । कोषले वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकमको व्याजदर गत वर्षको तुलनमा ०.६ प्रतिशतले घटाएको छ । कोषले गत आवमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा ८.१ प्रतिशत ब्याज दिदै आएको थियो । यो वर्ष घटाएर ७.५ प्रतिशत बनाएको हो ।
त्यसैगरी चालु आवका लागि अवकाश कोषवाट योगदानकर्ताले लिएको विशेष सापटीमा कोषले लिने व्याजदर वार्षिक ८.६० प्रतिशत कायम गरेको छ । यो व्याजदर गत आवमा ९.१ प्रतिशत रहेको थियो । यसैगरी धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा कोषले लिने व्याज दर वार्षिक ९.२५ प्रतिशत कायम गरेको छ । कोषले यो शिर्षकमा गत वर्ष ९.७५ प्रतिशत व्याज लिदै आएको थियो ।
धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेकोमा कोषले लिने हर्जना ब्याजदर लिँदै आएको १ प्रतिशत भने परिवर्तन नगरिएको जनाएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट १ करोड २० लाख रुपैयाँ भन्दाबढी विशेष सापटी, घर कर्जा तथा शैक्षिक कर्जा
लिएका छन् । सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा लिन सक्ने प्रावधान रहेको छ ।
सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी योजना भदौ १ बाट शुरु गरिएको थियो ।
कोषले सापटी योजना अन्र्तगत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना भदौ १ गते २ जनालाई दिएर सुरु गरेको थियो । यी ४ वटा सापटी योजना विशेष सापटी श्रमिकले जम्मा गरेको रकमको ८० प्रतिशत सापटी पाउने योजना हो । यी सापटी बाहेक कोषले हालसम्म घर कर्जा १४ जना र शैक्षिक कर्जा १ जनाले लिएका छन् ।