काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ । केन्द्रीय बैंकले नियम उल्लंघन गर्ने प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।
केन्द्रीय बैंकले प्राइम बैंकलाई अन्य शीर्षकमा र कुमारी र हिमालयनलाई कर्जा तथा निक्षेप अनुपात कायम नगरेको भन्दै कारबाही गरेको छ ।
एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको भन्दै प्राइम बैंकलाई सचेत गराएको छ भने कुमारी र हिमालयनलाई भने जरिवाना नै तिराएको छ ।
केन्द्रीय बैंकका अनुसार कुमारी बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ जरिवाना तिर्नुपर्ने छ भने हिमालयन बैंकले एक करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।