११ पुष २०८१, बिहीबार

घट्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीको कति ?


गत आर्थिक वर्षमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीको प्रथम बिमा शुल्कबापतको रकम २४ प्रतिशतले घटेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको गत आवको असारसम्मको तथ्यांकमा प्रथम बीमा शुल्क घटेको पाइएको हो ।

प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले गत आवको असारसम्ममा ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शूल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २४ प्रतिशतको कमी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले यस्तो शुल्क ४१ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेका थिए ।

तथ्यांक अनुसार, असारसम्ममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको सबैभन्दा कम प्रतिशतले नयाँ व्यवसाय घटेको छ । गत आिर्थक वर्षमा यस कम्पनीले ९५ करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क बापत आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९६ करोड ३९ लाख रुपैयाँ प्रथम बीमा शुल्क कमाएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा यस कम्पनीको १ प्रतिशत हाराहारीमा मात्रै प्रथम बिमा व्यवसाय घटेको छ ।

गत आवमा सन नेपाल लाइफले १ अर्ब ७८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा यस कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको थियो ।

यस्तै आइएमई लाइफ इन्स्यनेरेन्स कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गर्दा नेपाल लाइफको ६ अर्ब ५६ करोड रुपैयाँ आर्जन भएको छ ।

यस्तै मेट लाइफको १ अर्ब २४ करोड रुपैयाँ, नेशनल लाइफको ३ अर्ब ८७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफको १ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन भएको छ ।

गत आवमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ८६ करोड रुपैयाँ प्रथम बिमा शुल्क कमाउँदा एशियन लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ३८ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ९४ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफले २ अर्ब २८ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

असार मसान्तसम्ममा सञ्चालन रहेका जीवन बीमा कम्पनीमध्ये गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रभु महालक्ष्मी लाइफको नयाँ व्यवसायमा ४९.९० प्रतिशतले सर्वाधिक गिरावट आएको छ ।

त्यस्तैै, हिमालयन लाइफको प्रथम बीमाशुल्क गत आवको तुलनामा हिमालयन लाइफको ४८ प्रतिशत, रिलायबल नेपाल लाइफको ३७ प्रतिशत, सिटिजन्स लाइफको ३१ प्रतिशत र अन्य कम्पनीको ३० प्रतिशत भन्दा कम प्रतिशतले घटेको छ ।

अर्थतन्त्रमा आएको सुस्तताका कारण गत आवमा बीमा व्यवसाय प्रभावित भएको सरोकारवालाहरू बताउँछन् । जनशक्तिमा क्रय शक्ति नै कम हुँदा बिमाप्रति आकर्षण कम हुन पुगेको कम्पनीहरूको समेत बुझाइ छ ।

बिमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले पछिल्लो समय जनतामा क्रयशक्ति कमजोर हुँदा बिमा व्यवसायमा पनि असर परेको सुनाए ।

उनी भन्छन्,‘अहिलेको अवस्थामा जनतामा क्रयशक्ति निकै कमजोर छ, यस्तो अवस्थामा बिमा गर्न आउनेहरू कम भएका हुन् ।’ उनले गत आवको चौथो त्रैमाससम्ममा करिब २७ प्रतिशतले बिमा पोलिसी परित्याग गरेको समेत जानकारी दिए ।

उनले भने,‘अर्थतन्त्रमा आएको सुस्तताका कारण खर्च टार्न पनि धौधौ भएको अवस्था समेत आयो । जसकारण पोलिसी त्याग्नेहरू करिब २७ प्रतिशतले बढेका छन् ।’

ताजा समाचार