काठमाडौं । जीवन बीमा क्षेत्रमा क्रमशः आकर्षण घट्न थालेको छ । बीमा क्षेत्रका कम्पनीहरुले गरेको व्यवसायलाई हेर्दा यस्तो देखिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार १५ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष (आव) २०७९/८० मा एक खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ प्रिमियम रकम संकलन गरे । सो प्रिमियम रकम अघिल्लो आव ०७८/८० मा भन्दा २.६८ प्रतिशतले मात्रै वृद्धि भएको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ ।
अघिल्लो आव २०७८/७९ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । अघिल्लो आवमा १६ जीवन बीमा कम्पनीले १ करोड ४१ लाख ३७ हजार ३२१ बीमालेख मार्फत उक्त बीमाशुल्क संकलन गरेका हुन् ।
त्यस्तै, गत आवको एक वर्षको अवधिमा एक लाख बढी बीमितले बीमा पोलिसी त्याग अर्थात सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको असार मसान्तसम्म तथ्यांकअनुसार गत आव २०७९/८० मा सञ्चालनमा रहेका १५ बीमा कम्पनीका एक लाख ४ हजार ५०६ जनाले बीमा पोलिसी अर्थात् बीमालेख त्यागेका हुन् ।
जुन अघिल्लो वर्षको तुलनामा २७.६६ प्रतिशतले बढी हो । अघिल्लो आव २०७८/७९ मा १ हजार ८६० जना बीमितहरुले बीमा पोलिसी सरेन्डर गरेका थिए । त्यस्तै, समीक्षा अवधिमा सरेन्डर रकम १७.२० प्रतिशतले बढेको छ ।
बीमितहरुले एक वर्षको समयमा १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरे । जुन अघिल्लो वर्ष भने १२ अर्ब १ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका थिए ।
तथ्यांकहरु हेर्दा, जीवन बीमा कम्पनीहरुले तिव्रताका साथ व्यसायलाई अगाडि बढाउन सकेका छैनन् भने सरेन्डर गर्ने दर पनि बढ्दै गएको देखिन्छ ।
व्यवसायमा काे अगाडि ?
गत आर्थिक वर्षमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । गत आर्थिक वर्षमा संकलन भएको कुल बीमाशुल्कमध्ये नेपाल लाइफको हिस्सा २६.११ प्रतिशत छन् । कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ५६ करोड ५० लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित कुल ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, कुल बीमाशुल्कमा १२.३७ प्रतिशत हिस्सा सहिशत दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल प्रथम बीमाशुल्कमा ७.६४ प्रतिशत हिस्सा सहित चौथो स्थानमा छ । कम्पनीले २ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित कुल १७ अर्ब ४६ करोड १५ लाखा रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, कुल बीमाशुल्क संकलनमा ११.३४ प्रतिशत बजार हिस्सा सहित तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ८७ करोड २१ लाख प्रथम बमिाशुल्क सहित कुल १६ अर्ब ४३ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इनस्योरेनस मर्जर भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कुल बीमाशुल्क संकलनमा चौथो र प्रथम बीमाशुल्क संकलनमा पाँचौं स्थानमा छ । कम्पनीले २ अर्ब २८ करोड ५४ लाख प्रथम बीमाशुल्क सहित १४ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, सुर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २ अर्ब ७१ करोड ८९ लाख प्रमथ बीमाशुल्क सहित ८ अर्ब ८१ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ९५ करोड ३१ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित ८ अर्ब ३० करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५४ करोड २६ लाख प्रथम बीमाशुल्क सहित कुल ७ अर्ब १ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
सिटिजन्स लाइफले १ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित ५ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा र रिलायन्स लाइफ मर्जर भएर बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ८६ करोड ५९ लाख प्रथम बीमाशुल्क सहित ५ अर्ब ६७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफ नेपालले १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित कुल ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
आइएमई लाइफले १ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क सहित कुल ४ अर्ब १८ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब ५० करोड ६२ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित कुल ३ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
सन् नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित कुल २ अर्ब ७ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मर्जर भइसकेको प्रभु लाइफले ६६ करोड ४ लाख रुपैयाँ प्रथम बीमाशुल्क सहित २ अर्ब ७ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा महालक्ष्मी लायफ इन्स्योरेन्सले ४९ करोड१० लाख प्रथम बीमाशुल्क सहित कुल १ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।