११ पुष २०८१, बिहीबार

किन घट्यो नेपाल टेलिकमको आय ?


काठमाडौं । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म नेपाल टेलिकमको आय घटेको छ । बुधबार टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरण अनुसार टेलिकमको कुल सञ्चालन आय एक अर्ब ११ करोड ५ लाख ५८ हजार रुपैयाँले घटेको छ । चालु आर्थिक वर्षको आषाढ मसान्तसम्ममा कुल सञ्चालन आय ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रुपैयाँ रहेको छ । गत आ.वको सोही अवधिमा भने कुल सञ्चालन आय ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रहेको थियो ।

आय घटेसँगै कम्पनीको खुद मुनाफा ६६ करोड ६२ लाख ७ हजार रुपैयाँ अर्थात ७.८६ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७९/८० को असार मसान्तसम्म कम्पनीको खुद मुनाफा ७ अर्व ४५ लाख २६ हजार रुपैयाँ रहेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा खुद मुनाफा ८ अर्व ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ थियो ।

आर्थिक वर्ष ०७९÷८० को असार मसान्तसम्ममा टेलिकमको कुल आय ४४ अर्व ६ करोड ८२ लाख ७३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल आय ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रहेको थियो । टेलिकमले एक वर्षमा ४९ करोड ३६ लाख १६ हजार रुपैयाँ आय वृद्धि गरेको छ । राष्ट्रिय अन्तरआवद्धता शुल्क मा परिमार्जन, देशैभरी फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि र सस्तो दरका डाटा प्याकेजहरु बढ्दै गएको कारण ‘ओटीटी’ सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआबद्धता आयमा करिब ६ करोड ३७ लाखले कमी भएको छ ।

आर्थिक ऐन, २०७९ बाट दूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रुपमा कमी भएको कम्पनीको भनाइ छ । ‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कम्पनीले जनाएको छ ।

कोभिडको कारण बिगत केहि वर्ष देखि संचालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरु यस वर्ष संचालन हुनु र गत वर्ष कर्मचारीहरुको तलबमा भएको वृद्धिको कारण कर्मचारीसंग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको कम्पनीले बताएको छ । टेलिकमका अनुसार विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको छ ।

ताजा समाचार