अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेका छन् ।
वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको अध्ययन गर्न खोजेका छन् ।
‘मरेका चरालाई ड्रोन बनाउन सकिने सोच हामीलाई आयो,’ डा मोस्तफा हसनालियनले बताए । उनी न्यु मेक्सिको इन्स्टिच्युट अफ माइनिङ यान्ड टेक्नोलोजीका सहप्राध्यापक हुन् ।
जीवित पक्षीहरूको बीचमा यान्त्रिक पक्षीहरू पठाउँदा अपेक्षित परिणाम नआएपछि हसनालियन र उनको टोलीले अनौठो अवधारणा ल्याएको हो ।
अहिले यी मृत चराबाट बनेका ड्रोनलाई परीक्षण गरिँदैछ । अहिले यस्ता चरा एकपटकमा २० मिनेटसम्म उड्ने गर्छन् ।
यस अध्ययनमार्फत चराहरूले फर्मेशन बनाएर लामो समयसम्म उड्दाखेरी कसरी ऊर्जा बचाउन सक्छन् भन्ने विषयमा नयाँ ज्ञान पाइने आशा गरिएको छ । त्यसबाट प्राप्त ज्ञानलाई मानवीय उडानका लागि उपयोग गर्न सकिनेछ ।