८ पुष २०८१, सोमबार

भारत १० अर्बमा चन्द्रमामा पुग्यो, सोही बजेटको नेपालको संसद भवन बन्ने छैन टुंगो


६ सय १५ करोड भारू अर्थात् ९ अर्ब ८४ करोड खर्च गरेर भारतले चन्द्रयान -३ लाई सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउन सफल भएको छ । भारतीय सञ्चारमाध्यमहरूले यसको लागत नेपाली १० अर्ब भन्दा कम रहेको समाचार प्रकाशित गरिरहेका छन् ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)को आधिकारिक वेबसाइटमा पनि चन्द्रयान ३ परियोजनामा नेपाली १० अर्ब भन्दा कम लागत लागेको जनाएको छ । यो अमेरिका, युरोपियन युनियन अथवा रुस चन्द्रमामा पुग्दा लागेको बजेट भन्दा निकै कम हो ।

छिमेकी देश भारत सफलतापूर्वक चन्द्रमामा अवतरण गर्दा नेपाल र नेपाली खुसी नहुने कुरै भएन । तर नेपालको विकास निर्माणको खराब पाटो पनि छ । भारतले चन्द्रयान ३ मिसन शुरू गर्नुभन्दा निकै पहिला नेपालले सिंहदरबार परिसरमा संसद भवन शिलान्यास गरेको थियो ।

२०७६ को असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुँदै गरेको संघीय संसद भवनको शिलान्यास गरेका थिए । अढाइ वर्षमा निर्माण सम्पन्न हुने भनिएको उक्त भवन ४ वर्षमा पनि पूरा भएको छैन ।

संयोगको कुरा के भने भारतको चन्द्रयान ३ मिसनमा लागेकै बराबरको बजेट १० अर्ब संसद भवन निर्माणमा लाग्ने इस्टिमेट गरिएको छ । त्यसका लागि प्रत्येक आर्थिक वर्षमा बजेट बिनियोजन गरिँदै आएको छ । २०७८/७९ मा सबै भन्दा बढी ५ अर्ब बजेट बिनियोजन गरिएको थियो ।

यद्यपी उक्त भवनको लागत अझै बढ्न सक्ने बताइएको छ । भारतले सफल चन्द्रयान ३ मिसनपछि संसारकै ध्यान आकृष्ट गर्न सफल भएको छ भने नेपालमा भ्रष्टाचार र अनियमितताकै कारण एउटा भवन पनि सम्पन्न हुने परिस्थिति निर्माण भएको छैन ।

 

ताजा समाचार