४ पुष २०८१, बिहीबार

नाडा अटो शोमा आउँदै छन् सस्तो र पारिवारिक यी दुई ईभी, मूल्य २० देखि २५ लाख


नाडा अटो शो सुरु हुन २६ दिन मात्रै बाँकी रहेको छ । दशैं तिहारको सिजन पनि सुरु हुने भएको कारण अटो शोमा गाडी किन्ने धेरै मानिसको योजना हुने गरेको विगतले पनि देखाउँछ ।

यस वर्ष नाडा अटो शो भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा आयोजना हुँदैछ । अटो शोमा विद्युतीय साधनको बाहुल्यता हुने कुरामा कुनै शंका छैन ।

धेरै मानिसले २०÷२५ लाखमा इलेक्ट्रीक कार किन्ने सपना बुनिरहेका छन् । तर, सरकारले कम कर लगाएपनि उत्पादन लागत महंगो भएको कारण राम्रा ईभी कम मूल्यमा पाउन सकिएको छैन । यो वर्ष नाडा अटो शोमा टाटा र एमजीले साना इलेक्ट्रीक कार ल्याउने भएको कारण पनि कम मूल्यका ईभी किन्नेहरु उत्साहित छन् ।

टाटाले आफ्नो चर्चित ह्याचव्याक कार टियागो ईभी अटो शोबाटै बिक्री सुरु गर्ने छ । कम्पनीले टियागो ईभीको बिक्री कति मूल्यमा सुरु गर्छ भन्ने एकिन छैन । तर, यसको मूल्य २५ लाखदेखि ३० लाख भित्रै रहने छ ।

एमजी कोमेट पनि नाडा अटो शोमा रहने छ । अहिले बजारमा रहेको विलिङ एयर मिनीको प्लेटफर्ममा बनेको कोमेट २० लाख हाराहारी मूल्यमा बिक्री सुरु हुनेछ । एमजीले नेपालमा गरेको लगानीको कारण यसको बिक्रीपछिको सेवामा ग्राहक ढुक्क हुने अवस्था रहेको छ ।

कोमेट सहरमा काम गर्ने मानिसको लागि निकै उपयोगी कार बन्न सक्छ ।

पारिवारीक कार टियागो ईभी

टाटाको फ्यामली ह्याचव्याक कार टियागोको इलेक्ट्रीक भर्सन भारतमा सार्वजनिक भएदेखि नै नेपालमा चर्चा गरिएको मोडल हो । यसलाई अहिले पनि धेरै मानिसले कुरेर बसिरहेका छन् । इन्टरनल कम्बस्चन इन्जिन भएको टियागोमा नै जीपट्रोन प्रविधि प्रयोग गरेर यसलाई ईभी बनाइएको हो । टाटाले ईभी भर्सनमा विशेष कलर र अगाडिको भागमा ईभी स्टाइल दिएको छ ।

टाटाले भारतमा टियागोलाई २ ब्याट्री अप्सनमा बिक्री गर्दै आएको छ । नेपाली बजारमा एउटा मात्रै ब्याट्रीमा आउँछ वा दुबै अप्सन उपलब्ध हुन्छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन । टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री छ । सानो ह्याचव्याक भएपनि यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।

यसलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टा लाग्ने कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९.२ किलोवाटआवर ब्याट्री प्याक भर्सनले २२० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ ।

टाटा टियागो ५० किलोवाट क्षमताको मोटरमा नेपाल आउने छ । नेपाल सरकारले ५० किलोवाटसम्मका गाडीलाई १० प्रतिशत मात्रै भन्सार लगाएको छ । यसको अधिकतम पावर ६९ पीएस र टर्क १७० न्यूटन मिटर रहने छ ।

टियागोले जम्मा ५.७ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ । यसमा सिटी र स्पोर्टस गरी दुई ड्राइभ मोड पाउन सकिन्छ । ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर यसमा पाउन सकिन्छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।

सहर केन्द्रित कोमेट

सहरी यात्राको लागि निकै किफायती रहने कोमेट ईभी भारतमा नेक्सन ईभीपछि सर्वाधिक बिक्री हुने इलेक्ट्रीक मोडल हो । नेक्सन नेपालमा पनि राम्रो संख्यामा बिक्री हुँदै आएको छ ।

एमजीले कोमेटलाई आरामदायी बनाउन रिमोर्ट लक, इन्टेलिजेन्ट की, किलेस इन्ट्री, स्मार्ट स्टार्ट सिस्टम, स्टेरिङ टिल्ट सुविधा, अगाडि पावर विन्डो, म्यानुअल एसी र हिटर दिएको छ ।

आजकल कार एउटा ग्याजेटकै अवस्थामा पुगेको छ । त्यसैले एमजीले कोमेटलाई प्रविधिमैत्री बनाउन इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल क्लष्टर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, आई–स्मार्ट सहितको ५५ भन्दा धेरै कनेक्ट फिचर, २ स्पीकर, १२ भोल्टको पावर सकिट, फास्ट चार्जर सहितको यूएसबी पोर्ट दिएको छ ।

सुरक्षाको लागि पनि सिटी कारमा निकै ध्यान दिइएको छ । कम्पनीले यसमा आईपी६७ रेटेड ब्याट्री, ड्यूल एयरब्याग, इबीडीसहितको एबीएस, रिभर्स पार्किङ क्यामेरा, रियर पार्किङ सेन्सर दिएको छ ।

त्यसैगरी, एलइडी रियर फगल्याम्प, फलो मी हेडल्याम्प, टायर प्रेसर मोनिटर, सिट वेल्ट रिमाइन्डर, म्यानुअल पार्किङ ब्रेक, म्यानुअल डे÷नाइट आइआरभीएम, आइएसओ फिक्स चाइल्ड सिट, स्पीड सेन्सीङ अटो डोर लक जस्ता फिचरले यसलाई सुरक्षीत कार बनाएको छ ।

एमजीले यसलाई १७.३ किलोवाट आवरको ब्याट्री दिएको छ । यसमा ३१ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । यसले फास्ट चार्जर सपोर्ट गर्दैन । तर, ३.३ किलोवाट क्षमताको एसी चार्जरले ६ घन्टामा यसलाई फुल चार्ज गर्छ । सिंगल चार्जमा २३० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

मेरोअटोबाट साभार

ताजा समाचार