काठमाडौँ । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बुधबार विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै काठमाडौँमा आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले आन्दोलनकारीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएको तर उनीहरुले उक्त क्षेत्र तोड्न खोजेको आरोप लगाउँदै शिक्षकहरुलाई लछारपछार गरेको हो ।
प्रहरीले हस्तक्षेप गर्दा झन्डै ७ जना शिक्षकहरु घाइते भएको उनीहरुलाई ट्रामा सेन्टरमा उपचारको लागि लगिएको थियो ।
शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।
शिक्षकहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।
नेपाल प्रहरीले गृह मन्त्रालयको निर्देशनमा यस्तो गरेको हो । नेपालको संविधान २०७२ ले स्वतन्त्रताको हक जारी गर्दै शान्तिपूर्ण भेला हुन मौलिक हकसमेत प्रदान गरेको छ । तर बुधबार गृहमन्त्रालय अर्थात सरकारकै निर्देशनमा प्रहरीले आन्दोलन गरिरहेका शिक्षकहरुमाथी हस्तक्षेप तथा लछारपछार गरेको हो ।
शिक्षक ईश्वरी प्रसाद न्यौपाने भन्छन्- आन्दोलन झनै शसक्त हुन्छ
प्रहरीको दमनबाट घाइते भएका शिक्षक ईश्वरी प्रसाद न्यौपानेले अबका दिनहरुमा आन्दोलन झनै सशक्त रुपले अगाडी बढाउने बताउँछन् ।
बुधबार नेपाल प्रहरीले आफूहरुमाथि दमन गरेको विषयलाई लिएर घोर निन्दा गर्दै उनले शिक्षक आन्दोलन नरोकिने र आफूहरुलाई आन्दोलन गर्न अझै थप उर्जा मिलेको भन्दै आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिए ।
‘मिति २०८०/०६/१० गतेको पेन्सन बन्चित स्थायी स्थइ शिक्षक, राहत, बालशिक्षक, बिद्यालय कर्मचारी, विशेष शिक्षक, हिस्टुन लगायत शिक्षकको आन्दोलनमा व्यापक दमन र लाठी तथा बुट प्रहार गरि गरिएको धरपकट र सरकारको सो कदमको घोर निन्दा।।। तिम्रो दमनले शिक्षक आन्दोलन रोकिदैन बरु अझै उर्जा प्रदान गर्छ फलस्वरुप अझै सशक्त हुनेछ।।।‘ उनले भनेका छन् ।
त्यस्तै राजधानीमा शिक्षकहरुको आन्दोलनको सपोर्टमा विभिन्न राजनीतिक पार्टी, विद्यार्थी संगठन तथा अन्य चर्चित व्यक्तिहरुले समर्थन गरिरेहका छन् ।