४ पुष २०८१, बिहीबार

शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्ताको साढे ४ करोड फिर्ता गरेन


म्याग्दीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ ।

ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो ।

बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

‘सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा २०८० असार १७ गतेदेखि अनुसन्धान थालिएको थियो,’ उनले भने , ‘मुुद्दा दर्ता भएको ९० दिनभित्र अनुसन्धानको सबै प्रक्रिया पूरा गरेर सरकारी वकिलमार्फत जिल्ला अदालत म्याग्दीमा मुद्दा अघि बढेको छ ।’

भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् ।

सहकारीले २०७९ बैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत सङ्कलन गरेको सहकारीले छ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो ।

बेनीको न्यूरोडमा करिब रु छ करोडमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।

सो सहकारीको बेनी शाखामा एक हजार चार सय ८४ जनाको रु छ करोड १० लाख बचत रहेकामा दुई सय ८२ जनाले मात्र उजुरी गरेका हुन् । निक्षेप फिर्ता नगरेको जनाउँदै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारी संस्थाविरुद्ध उजुरी पर्ने क्रम बढेको छ ।

 

ताजा समाचार