१ पुष २०८१, सोमबार

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको तयारी पूरा


आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ को तयारी पूरा भएको छ ।

हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको एक्स्पो असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्दैछ ।

एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको एक्स्पोका संयोजक कपिल अधिकारीले बताए ।

नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताए ।

यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताए ।

यसका साथै पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृतिसँग सम्बन्धित क्रियाकलाप) प्रदर्शनीका आकर्षणका रुपमा रहने आयोजकको भनाइ छ ।

इन्टरनेशनल एक्स्पोमा अमेरिका, क्यानडा, यूरोप, चीन, भारतलगायत अन्य देशबाट करिब ५ सय जना भन्दा बढी विदेशी क्रेताको आगमन हुने संयोजक अधिकारीले बताए ।

यस्तै प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरुलाई डिजीटल कारोबारमा अभ्यस्त बनाउन विशेष प्याकेज ल्याइएको छ । निःशुल्क रजिष्ट्रेशन गरी प्रदर्शनीस्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई एक सय रुपियाँको अनलाइन गिफ्ट भौचार उपलब्ध गराइने छ ।

सो भौचारमार्फत अवलोकनकर्ताले इन्टरनेशनल एक्स्पोस्थलमा रहेका स्टलहरुमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्न सक्ने हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीका संयोजक अधिकारीले बताए ।

अर्नसिक्का नामक डिजीटल भुक्तानी सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा एक्स्पोको डिजीटल कारोबारमा साझेदारी गर्न लागिएको छ ।

नेपालको प्राचीन स्मारक एवं सम्पदा, मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराइ एक्स्पोस्थल लिएर उपयुक्त स्थानहरूमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न गराउन ईच्छुक सबैमा स्टल बुकिङ खुल्ला गरिएको छ ।

स्मरणीय छ हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले स्थानीय उत्पादनको लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित एवं बिक्री वितरणका लागि अघिल्लो वर्ष आयोजना गरेको एक्स्पोमा ३५० जना विदेशी क्रेताहरुले भ्रमण गरेका थिए । जसबाट पर्यटन विकास एवं नेपाली उत्पादनले विश्व बजारमा पहिचान हुने अवसर प्राप्त गरेको थियो ।

हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले यसपाली आयोजना गर्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरि एक सय स्टल रहने भएका छन् । एक्स्पोको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेता बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ ।

विश्वका विभिन्न देशहरुबाट क्रेताहरु भित्र्याउने र बढी भन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीहरुसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक सम्बृद्धि साथै पर्यटन विकास र प्रवद्र्धन गर्ने यो प्रदर्शनीको प्राथमिकता रहेको एक्स्पो आयोजकले जनाएको छ ।

 

 

ताजा समाचार