विदेशी मुलुकमा महावाणिज्यदूत हुन लाइन मिलाउँदै आएका केही सहसचिवहरु हिस्स पर्ने डरले पिरोलिन थालेका छन् । डा. आरजु राणा विदेश गएका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका द्विपक्षीय महाशाखा हेर्ने सहसचिव रामचन्द्र तिवारी सिफारिसमा नपर्ने डरका कारण फिटीफिटीमा परेको चर्चा छ। तिवारी उपसचिवबाट सहसचिवमा बढुवा हुनासाथ नेपाली कांग्रेस निकट कर्मचारी युनियन गृह जिल्लाका तत्कालीन मुख्यसचिव डा. शंकरदास बैरागीको आशीर्वादले जुनियर भएर पनि उद्योग विभागको महानिर्देशकमा बाजी मारेका थिए ।
झण्डै १६ महिना बिभागको नेतृत्व गर्दा उनले व्यवसायीहरूलाई सेकेर कुस्त कमाएको आरोप लाग्ने गरेको छ । सहसचिव तिवारी अहिले चीनको ग्वान्झाउको महावाणिज्यदूत हुन बिचौलियाहरु, हाल सरकारको प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका बैरागी, आरजु र सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवामार्फत नियुक्तिका लागि सेटिङ मिलाउँदै आएको चर्चा छ।
आरजु २०८० मंसिर १ गते शुक्रबार उपचारका लागि भनेर जापान गएकी छिन । उनी पटक–पटक जापान जाने आउने गरेकी छिन्। उनकी आमा राप्रपाकी नेतृ प्रतिमा राणाजापानका लागि नेपाली राजदूत बनेपछि आरजुको जापानमा आवतजावत बढेको स्रोत बताउँछ । सहसचिव तिवारी भने ग्वान्झाउको महावाणिज्यदूतमा नियुक्त हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरूवा हुन चाहिरहेका छन् । तर, सभापति देउवालाई दबाब दिएर महावाणिज्यदुतमा सिफारिस गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नेहर्ताकर्ता आरजु नभएपछि सहसचिव तिवारी छटपटीमा परेका छन्।
यता प्रधानमन्त्री प्रचण्डले ग्वान्झाउमा आफ्ना पूर्व निजी सचिव तथा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई पठाउन लागेकोचर्चा पनि छ । महानिर्देशक ढुंगानाले ग्वान्झाउको महावाणिज्यदूत हुन प्रधानमन्त्री प्रचण्डसँग रहर व्यक्त गर्दै आएका बुझिएको छ । त्यसैगरी उक्त ठाउँमा जानको लागि भरतपुर महानगरपालिको हाल प्रमुख प्रशासकीय अधिकृत रहेका सहसचिव नरेन्द्र कुमार रानाले पनि मेयर रेनुमार्फत दिलचस्पी देखाउँदै आएको चर्चा छ । उनले प्रधानमन्त्री पुत्री मेयर रेनुलाई रिझाएर ग्वान्झाउको महावाणिज्यदूतमा सिफारिस हुन खोजेको प्रधानमन्त्री निवास स्रोतले बताएको छ।
यस अघि नयाँ दिल्ली र छिन्दूमाप्रधानमन्त्री प्रचण्डले आफू अनुकूलका दुई जना सहचिव तारानाथ अधिकारी र सुरेश राउतलाई खटाइसकेका छन् । कांग्रेसले कडा ढंगले कुरा राख्न नसकेको खण्डमा कलकत्ता, हङकङ र ल्हासामा पनि नेपाली कांग्रेस थाङ्नामा सुत्नुपर्ने अवस्था आउने भन्दै केही सहसचिवहरु भने छटपटीमा परेको चर्चा छ ।
यता कलकत्ता,हङकङ र ल्हासाका महावाणिज्यदूतलाई चार वर्ष अवधि पूरा हुन नदिई तीन वर्षमै फिर्ता बोलाउन र आफू महावाणिज्यदूतमा सिफारिस हुन पनि कांग्रेस र माओवादी केन्द्र निकट बद्नाम सहसचिवहरूले चलखेल गरिरहेको चर्चा छ । विगतमा भ्रष्टाचार गरेर कमाएको कालोधनलाई सेतो बनाउन पनि उनीहरु ज्यान फालेर लागेकोचर्चा छ । चार वर्ष महावाणिज्यदूत हुँदा पाँच करोड रूपैयाँ भन्दा बढी वैध ढंगले आर्जन गर्न सकिने भएकोले भ्रष्ट,घुस्याहा र बद्नाम सहसचिवहरू महावाणिज्यदूत बन्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रीका बिचौलियालाई लाखँैं बुझाएर जान ज्यान फालेर लागेको चर्चा छ ।
चीनको व्यापारिक शहर ग्वान्झाउको महावाणिज्यदूत रहेका सहसचिव हरिशरण पुडासैनीको चार वर्षे कार्यकाल २०८० कार्तिकमै सकिइसकेको छ। उक्त ठाउँमा महावाणिज्यदूत हुन सहसचिव तिवारीले विगत तीन महिनादेखि विभिन्न शक्ति केन्द्रहरूबाट जोडबल लगाई रहेको बुझिएको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,परराष्ट्र मन्त्री नारायणप्रसाद साउद र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई दबाब दिन शक्ति केन्द्रको प्रयोग गर्दै आएको चर्चा छ । (साँघु साप्ताहिक, २०८० मंसिर ४)